बागलुङ, ३ भदौ
बागलुङ नगरपालिका -१२ स्थित भैरवस्थान मन्दिरमा मंगलबार हरेलो मेलाको आयोजना गरियो । बर्सेनि भदौको पहिलो मंगलबार त्यस क्षेत्रमा हरेलो मनाउने चलन छ ।
कालभैरवको विशेष पूजाआजासहित विधिपूर्वक हरेलो पर्व मनाइएको हो । खेतीबाली लगाइसकेपछि रोगकिरा नलागोस्, बाली सप्रियोस् भनेर हरेलोमा प्रकृति पूजा गर्ने गरिन्छ ।
घर तथा खेतमै पुगेर गरिने हरेलो पूजा खेतीबाली र जमिनको पूजा हो । यसलाई प्रकृति अर्थात् जमिनको पूजा पनि भन्ने गरिन्छ । खेतमा धूपसहित पूजा गरेर मास, चामल, गहुँ, फापर, तोरी आदिबाट तयार पारिएका विभिन्न परिकार तयार गरी चढाउने गरिन्छ ।
हरेलोको अवसर पारेर आयोजित मेलामा विभिन्न सांस्कृतिक तथा मनोरन्जनात्मक कार्यक्रमको आयोजना गरिएको थियो । हरेलोलाई मौलिक मेलाका रूपमा स्थापित गर्न स्थानीयवासी लागिपरेका छन् । मेलामा भक्तजनसहित दर्शकहरूको बिहानैदेखि भीड लागेको थियो । भैरवस्थान मन्दिरमा मंगलबारका दिन विशेष पूजाआजा हुने गरेको छ । मेलामा परम्परागत तरबार नाच, विभिन्न लोकगीत, भजन तथा चुड्कासमेत प्रस्तुत गरिएको थियो ।
मेलाको उद्घाटन गर्दै नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको गण्डकी क्षेत्रमा व्याप्त रहेको पर्यटनको प्रचुर सम्भावनाको उजागर गर्नुपर्नेमा जोड दिनुभएको थियो । उहाँले गण्डकी प्रदेशमा प्राकृतिक मात्र नभएर धार्मिक, सांस्कृतिक पर्यटनको पनि अधिक सम्भावना रहेकाले यसको उजागर गर्न स्थानीय आफैँ लाग्नुपर्ने बताउनुभयो ।
निवर्तमान अध्यक्ष ढकालले भन्नुभयो “मुक्तिनाथमा हाल भारतीय पर्यटकको आगमन बढ्दै गएको छ। मुक्तिनाथ पुग्ने नेपालकै आन्तरिक पर्यटक पनि दिनप्रतिदिन बढ्दैछन्। बागलुङ बजार मुक्तिनाथ र रारा ताल जाने नेपालीकै ‘ट्रान्जिट’ जस्तै बनेको छ । ती पर्यटकलाई बागलुङ बजार तथा पर्यटकीय बलेवा भैरवस्थानसम्म पुग्ने र बास बस्ने वातावरण कसरी निर्माण गर्न सकिन्छ भनेर योजना बनाउनुपर्दछ।”
पूर्वअध्यक्ष ढकालले नेपाल आउने करिब ५० प्रतिशत पर्यटक पोखरा आउने भएकाले तिनलाई बागलुङसम्म ल्याउने र एक–दुई दिन बसाइँ लम्ब्याउने योजनामा लाग्न जिल्लाका पर्यटन व्यवसायीसँग आग्रह पनि गर्नुभयो । नेपालका उत्तर र दक्षिणी छिमेकीसँग जोडिएको गण्डकी प्रदेशले ती छिमेकीको कम्तीमा पनि तीन अर्ब जनसङ्ख्याबाट फाइदा लिनसक्नुपर्ने उहाँको भनाइ छ।
मौलिक पर्व तथा परम्पराको संरक्षण र सम्वर्द्धन होस् भन्ने उद्देश्यले बागलुङ नगरपालिका र बलेवा कालभैरव मन्दिर समितिको पहलमा केही वर्षदेखि हरेलो मेलाको आयोजना गरिँदै आइएको छ।