बागलुङ, २८ साउन
बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा माझकटेरामा सँगै काम गर्ने साथीको चक्कु प्रहारबाट एक जनाको हत्या भएको छ।
जिल्लाको ढोरपाटन नगरपालिका–७ का २५ वर्षीय अर्जुन घर्तीले सोही वडाका ४० वर्षीय अशोक खत्रीलाई धारिलो हतियार चक्कु प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) रामेश्वर त्वातीले जानकारी दिनुभयो।
घर्ति र खत्रि एक हप्ता अघि देखि धम्जास्थित निर्मल आधारभूत विद्यालयको पुरानो भवनमा अस्थायी रूपमा बसी सोही गाउँमा ज्याला मजदुुरी गर्दै आएका थिए । स्थानीयका
मंगलबार राति करिब ९ः४० बजे उनीहरूले सँगै बसेर मादक पदार्थ सेवन गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। हत्या हुनुको कारण भने हालसम्म खुल्न नसकेको डीएसपी त्वातीले बताए।
घटनापछि स्थानीयवासीले अर्जुन घर्तीलाई नियन्त्रणमा लिएर प्रहरीलाई खबर गरेका थिए। सूचना प्राप्त भएपछि धम्जा प्रहरी चौकी बिहुँ तथा जिल्ला प्रहरी कार्यालय बागलुङबाट खटिएको प्रहरी टोली घटनास्थल पुगेको थियो।
प्रहरीले हत्यामा संलग्न अर्जुन घर्तीलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाएको जनाएको छ। मृतक खत्रीको शव पोस्टमार्टमका लागि धौलागिरि अस्पताल बागलुङ ल्याइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।
