• २०८३ कार्तिक ५, बुधबार
  • 2026 October 21, Wednesday
  • Unicode Converter

कफी, सुन्तला र फूलखेती गर्ने किसानलाई पोखरा महानगरको सहयोग

पोखरा, ३२ असार

पोखरा महानगरपालिकाले कफी, सुन्तला र सयपत्री फूलको व्यावसायिक खेती गर्ने किसानलाई कृषि सामग्री, बिउविजन र प्रोत्साहन रकम सहयोग गरेको छ । स्थानीय उत्पादनको प्रवद्र्धन र किसानको आयआर्जन वृद्धि गर्ने उद्देश्यले महानगरले सञ्चालन गरेको कफी, सुन्तला र सयपत्री फूलखेती प्रवद्र्धन कार्यक्रमअन्तर्गत बुधबार किसानलाई सहयोग हस्तान्तण गरिएको हो ।

उक्त कार्यक्रमको शुभारम्भका क्रममा महानगर प्रमुख धनराज आचार्यले दोपहरे कृषक समूहलाई सुन्तला खेतीका लागि र कफी खेती गर्ने कृषक समूहलाई कफीका बिरुवा रोपणबापतको प्रोत्साहन रकम प्रदान गर्नुभएको थियो ।

सोही अवसरमा उहाँले दुई जना किसानलाई सयपत्री फूलको बिउ र मल्चिङ प्लाष्टिक वितरण गर्नुभएको थियो । कार्यक्रममा महानगर प्रमुख आचार्यले कृषकको सक्रियता र महानगरको सहयोगका कारण विगत केही वर्षयता पोखरा सयपत्री फूल उत्पादनमा आत्मनिर्भर भएको बताउनुभयो ।

महानगरले स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै आएको उहाँको भनाइ थियो । उहाँले कृषियोग्य जमिनको संरक्षणका साथै कृषकलाई व्यावसायिक उत्पादनतर्फ लाग्न सबैले प्रेरित गर्नुपर्ने बताउनुभयो । पोखरामा करिब १२ सयभन्दा बढी कफी हाउस सञ्चालनमा रहेको जनाउँदै महानगर प्रमुख आचार्यले कफी उत्पादन गर्न सके बजारीकरणको समस्या नहुने बताउनुभयो ।

उक्त कार्यक्रमअन्तर्गत एक सय ६५ जना किसानलाई एक सय ८१ प्याकेट सयपत्री फूलको बिउ, एक सय ५८ थान मल्चिङ प्लाष्टिक वितरण गरिएको महानगरको कृषि तथा आर्थिक विकास महाशाखाका प्रमुख मनोहर कडरियाले जानकारी दिनुभयो ।

यसैगरी ५० जना कृषकलाई नौ हजार सात सय कफीका बिरुवा रोपणका लागि रु. चार लाख ८५ हजार प्रोत्साहन प्रदान गरिएको उहाँले बताउनुभयो । सोही कार्यक्रममार्फत २९ जना कृषकलाई एक हजार ४१ सुन्तलाका बिरुवा निःशुल्क र तीन हजार सुन्तलाका बिरुवा ५० प्रतिशत अनुदानमा वितरण गरिएको थियो ।