पोखरा, २९ असार
पोखराका सडकमा देखिने छाडा तथा बेवारिसे चौपायाहरुको व्यवस्थापनमा पोखरा महानगरपालिकाले सक्रियता बढाएको छ । सडकमा छाडिएका चौपायाका कारण दुर्घटनाको जोखिम बढेपछि महानगरले केही वर्ष अघिदेखि सडक चौपायाको उद्धार र व्यवस्थापन गर्न सुरु गरेको थियो ।
महानगरको जनावर उद्धार वाहनमार्फत सडक चौपायालाई पोखरा–१४ बाच्छिवुडुवामा रहेको ‘पुष्करणी परोपकार गोकुलधाम’ (गौशला)मा पु¥याई सुरक्षित रुपमा व्यवस्थापन गर्ने गरिएको छ । नगर प्रहरी बलका प्रहरी निरीक्षक पुरुषोत्तम थापाले चालु आवमा मात्र दुई सय ७५ सडक चौपायाको उद्धार गरी गौशालामा राखिएको जानकारी दिनुभयो ।
“नगर क्षेत्रभित्रका सडकमा बेवारिसे अवस्थामा भेटिएका चौपायालाई उद्धार गरी गौशालासम्म पु¥याउने गरेका छौँ, त्यसपछि चौपायाको पालनपोषण, उपचार, हेरचाहलगायत व्यवस्थापनको काम गौशालाले गर्दै आएको छ”, उहाँले भन्नुभयो । गौशालामा गाई, गोरु र बाच्छाबाच्छीलाई मात्र राख्ने व्यवस्था गरिएको छ । महानगरको सहयोग र राष्ट्रिय परोपकार महासङ्घको व्यवस्थापनमा उक्त गौशला सञ्चालित छ ।
यसअघि पोखरा महानगरपालिकाले फोहर व्यवस्थापनका लागि प्रयोग गर्दै आएको उक्त ठाउँ अहिले गोकुलधामका रुपमा विकास भएको हो । हाल गौशलामा गाई, गोरु र बाच्छाबाच्छी गरी तीन सय २० भन्दा बढी चौपाया छन् । त्यहाँ रहेका गाईबाट दैनिक ५० लिटर दुधसमेत उत्पादन भइरहेको छ । गौशालामा उत्पादित मल प्राङ्गारिक खेतीमा प्रयोग हुँदै आएको छ ।
गौशलालाई धार्मिक र साँस्कृतिक पर्यटनको गन्तव्यस्थलका रुपमा विकास गर्ने योजना बनाइएको छ । गौशलाका सञ्चालनका लागि महानगरले बर्सेनि आर्थिक सहयोग दिँदै आएको छ । महानगर प्रमुख धनराज आचार्यले विगतमा सडकमा छाडिएका चौपायाका कारण हुने दुर्घटनाबाट बर्सेनि १०÷१५ जनासम्मको ज्यान जाने गरेकामा पछिल्ला केही वर्षयता त्यस्ता दुर्घटनामा नभएको बताउनुभयो ।
गौशला स्थापना भई सडक चौपायाको उद्धार र सुरक्षित व्यवस्थापन हुन थालेपछि नगरवासीमा पनि सडक सुरक्षाका विषयमा सचेतना बढेको उहाँको भनाइ छ । महानगरले पशुपालक किसान तथा आम नगरवासीमा घरपालुवा चौपाया सडकमा बेवारिसे अवस्थामा नछाड्न आग्रह गरेको छ । सडक चौपाया कतै देखिएमा नगर प्रहरी बलले सञ्चालन गर्दै आएको जनावर उद्धार वाहनलाई तुरुन्त खबर गर्न सार्वजनिक रुपमा सूचित गरिएको छ ।
तस्बिर संलग्न छ ।
