बागलुङ, १८ असार
ढोरपाटन दैनिकका प्रधानसम्पादक एवं नेपाल पत्रकार महासंघ, बागलुङका पूर्वअध्यक्ष हरिनारायण गौतम ‘सुगंगा पुरस्कार’बाट सम्मानित हुनुभएको छ । सुगंगा स्मृति कोषद्वारा बिहीबार आयोजित पुरस्कार समारोहमा उहाँलाई धवलागिरि बहुमुखी क्याम्पसका सहप्राध्यापक डा. सुदर्शन सिलवाल र कोषका अध्यक्ष काजी रोशनले संयुक्त रुपमा नगद रु. २५ हजारसहित दोसल्ला र सम्मानपत्र प्रदान गर्नुभएको हो ।
तीन दशकदेखि पत्रकारितामा सक्रिय गौतमलाई पत्रकारितामार्फत समाजमा पु¥याएको योगदान बापत पुुरस्कृत गरिएको कोषले जनाएको छ । विसं २०५१ देखि पत्रकारिता सुरु गर्नुभएक गौतमले धौलागिरि साप्ताहिक, धौलागिरि स्टार साप्ताहिक, न्यू धौलागिरि साप्ताहिक/दैनिक, राजधानी दैनिक, समाचारपत्र दैनिक, हिमाल, नेपाल तथा समय साप्ताहिक लगायतमा काम गरेको अनुभव छ ।
गौतम हाल ढोरपाटन दैनिकका प्रधान सम्पादक र धौलागिरि एफएमका अध्यक्ष हुनुहुन्छ । पुरस्कार हस्तान्तरण गर्दै सहप्राध्यापक डा. सिलवालले गौतम पत्रकारिता क्षेत्रको प्रेरणादायी व्यक्तित्व रहेको बताउनुभयो । पुरस्कार ग्रहणपछि गौतमले पुरस्कारले आफूलाई थप जिम्मेवार बनाएको बताउनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ, बागलुङ शाखाका पूर्वअध्यक्ष मुकेशचन्द्र राजभण्डारी, सामाजिक अगुवा लालचन्द्र राजभण्डारी, मुलपानी माध्यमिक विद्यालयका पूर्वप्रधानाध्यापक मेघराज पाण्डेय, वरिष्ठ अधिवक्ता काजी गाउँले श्रेष्ठ, हरिप्रसाद उपाध्यायलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
बागलुङका अग्रज पत्रकार एवं नेपाल पत्रकार महासंघ, बागलुङका संस्थापक संयोजक स्व. विदुर खड्काले आफ्नी आमा सुमित्रा र श्रीमती गंगा खड्काको स्मृतिमा उक्त कोष स्थापना गर्नुभएको थियो । यसअघि उक्त पुरस्कारबाट पत्रकार एकराज पाठक, शुभशंकर कँडेल, पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलगायतलाई प्रदान गरिएको थियो । कोषका अध्यक्ष काजी रोशनको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सदस्य विश्वनाथ रेग्मीले गर्नुभएको थियो भने सदस्य तथा धवलागिरि बहुमुखी क्याम्पसका पूर्वप्रमुख प्राडा रामप्रसाद उपाध्यायले स्वागत गर्नुभएको थियो ।
