बागलुङ, १० असार
जिल्ला समन्वय समितिको जिल्ला सभाले जिल्लाको विकास, पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन तथा सामाजिक क्षेत्रसँग सम्बन्धित विभिन्न महत्वपूर्ण निर्णयहरू गरेको छ। समन्वय समितिले पत्रकार सम्मेलनको आयोजना गरि निर्णय सार्वजनिक गरेको हो ।
सभाले बडीगाड गाउँपालिकामा खाना पकाउन उत्पादन गरिएको हाइड्रोजन ग्यासको आवश्यक कानुनी व्यवस्था मिलाई व्यावसायिक रूपमा बजारीकरण गर्न नेपाल सरकारसमक्ष अनुरोध गर्ने निर्णय गरेको जिल्ला समन्वय समितिका प्रमुख अमरबहादुर थापाले बताउनुभयो ।
यस्तै, जिल्लामा सञ्चालन भएको ग्रेडवृद्धि परीक्षाको केन्द्र जिल्ला सदरमुकाममा मात्र तोकिँदा विद्यार्थीलाई असुविधा भएको गुनासो आएकाले आगामी वर्षदेखि जिल्लाको भौगोलिक अवस्थालाई ध्यानमा राखी परीक्षा केन्द्र निर्धारण गर्न सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय गरेको छ।
सभाले जिल्लाभित्र रहेका सार्वजनिक जग्गाको संरक्षण तथा अतिक्रमण हटाउन पहल गर्ने, बालविवाह, छुवाछूत तथा लैङ्गिक हिंसा न्यूनीकरणका लागि आवश्यक कार्यक्रम सञ्चालन गर्ने तथा स्थानीय तहहरूले बजेट विनियोजन गर्दा स्वास्थ्य, शिक्षा, कृषि, पशु सेवा, पर्यटन, दलित, महिला, बालबालिका र ज्येष्ठ नागरिकलाई प्राथमिकतामा राखी समावेशी विकासमा जोड दिनुपर्ने निर्णय गरेको छ।
पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत उपल्लाचौर–बिहुँ खण्डको निर्माण कार्यमा भएको ढिलासुस्ती अन्त्य गर्न सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय पनि सभाले गरेको छ। बजारमा बढ्दो महँगी तथा अखाद्य वस्तुको बिक्री नियन्त्रणका लागि प्रभावकारी बजार अनुगमन गर्न सम्बन्धित निकायलाई आग्रह गरिएको छ।
सडकको अवस्थाअनुसार हालको भाडादर अवैज्ञानिक देखिएकाले दूरी र सडकको अवस्थाका आधारमा वैज्ञानिक भाडादर निर्धारण गर्न तथा स्थानीय तहहरूको राजस्व संकलनको दायरा विस्तार गर्न आवश्यक पहल गर्ने निर्णय सभाले गरेको छ। निर्माण सम्पन्न योजनाहरूको संरक्षण र दिगोपनका लागि आवश्यक व्यवस्था मिलाउन पनि जोड दिइएको छ।
कालीगण्डकी करिडोरअन्तर्गत केही स्थानमा अझै मोटरेबल पुल निर्माण नभएकाले शीघ्र निर्माण प्रक्रिया अघि बढाउन तथा हाल सञ्चालनमा रहेका बेलिब्रिजमार्फत भारी सवारी सञ्चालनबाट उत्पन्न जोखिम न्यूनीकरण गर्न सम्बन्धित निकायलाई आग्रह गरिएको छ।
जिल्लाको गौरवका आयोजनाका रूपमा रहेका उत्तरगंगा जलाशययुक्त बुढीगण्डकी परियोजना र कालीगण्डकी विद्युत् परियोजनाको निर्माण कार्यलाई तीव्रता दिन नेपाल सरकारसमक्ष अनुरोध गर्ने निर्णय गरिएको छ। साथै ढोरपाटन, तमानखोला, निसीखोला र बडीगाडका केही क्षेत्रमा अझै केन्द्रीय विद्युत् नपुगेको भन्दै विद्युत् विस्तारको व्यवस्था मिलाउन प्रदेश तथा संघीय सरकारसँग माग गरिएको छ।
स्वास्थ्यतर्फ केही स्वास्थ्य संस्थामा जनशक्ति तथा उपकरण अभाव रहेको भन्दै आवश्यक दरबन्दी, उपकरण र सेवा विस्तार गर्न तथा धौलागिरि अस्पतालमा विशेषज्ञ चिकित्सकको व्यवस्थापन, हरि खड्का ट्रमा सेन्टरको स्तरोन्नति र नर्सिङ कलेज सञ्चालनका लागि आवश्यक स्वीकृति दिन नेपाल सरकारसँग अनुरोध गरिएको छ।
सभाले जिल्लामा बढ्दो आत्महत्या तथा लागुऔषध दुव्र्यसनका घटनाप्रति चिन्ता व्यक्त गर्दै मानसिक स्वास्थ्य, घरेलु हिंसा न्यूनीकरण तथा लागुऔषध नियन्त्रणका लागि प्रभावकारी कार्यक्रम सञ्चालन गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ।
यस्तै, बाँदरका कारण किसानको खेतीबालीमा भइरहेको क्षति नियन्त्रण गर्न, औषधि पसलहरूको कानुनअनुसार सञ्चालन सुनिश्चित गर्न, जैमिनी नगरपालिकामा विद्युत् सबस्टेसन निर्माणलाई तीव्रता दिन तथा स्थानीय उत्पादनको बजारीकरणका लागि ‘एक पालिका, एक उत्पादन’ नीति प्रभावकारी रूपमा कार्यान्वयन गर्न समेत सभाले सम्बन्धित निकायसँग माग गरेको छ।
