• २०८३ कार्तिक ६, बिहीबार
  • 2026 October 22, Thursday
  • Unicode Converter

पत्रकार महासङ्घ बागलुङले प्रधानमन्त्रीलाई बुझायो हस्ताक्षर

बागलुङ, २५ जेठ

नेपाल पत्रकार महासंघ बागलुङले निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन रोक लगाउने सरकारको निर्णय फिर्ता लिन र सबै संचारमाध्यमलाई सरकारी विज्ञापन वितरण गर्न माग गर्दै संकलन गरेको हस्ताक्षर सोमबार प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई बुझाएको छ ।

महासंघको केन्द्रीय समितिको आव्हानमा सुरु भएको देशव्यापी दबाबमूलक कार्यक्रम अन्तर्गत संकलित हस्ताक्षर महासंघका अध्यक्ष राम थापासहितको टोलीले प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यलाई हस्तान्तरण गरेको हो । प्रजिअ आचार्यले महासंघले बुझाएको हस्ताक्षर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाउने बताए ।

सरकारी विज्ञापनमा सबै सञ्चारमाध्यमको समान अधिकार सुनिश्चित गर्दै सरकारी सञ्चारमाध्यमलाई मात्र सरकारी विज्ञापन दिने निर्णय फिर्ता लिन माग गर्दै महासंघ आन्दोलित बनेको छ ।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी अभ्यास, सूचना पहुँचमा नियन्त्रण तथा सरकारी खर्च कटौतीको बहानामा सबै तहको सरकारी विज्ञापन राज्य नियन्त्रित सञ्चारमाध्यमलाई मात्र दिने विभेदकारी निर्णय फिर्ता लिनुपर्ने महासंघको ठहर छ ।