बागलुङ, १५ जेठ
जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमरबहादुर थापाले कानुनी र सैद्धान्तिक रूपमा गणतन्त्र स्थापना भए पनि यसको मर्म र भावनाअनुसार कार्यसम्पादन हुन नसक्दा जनतामा निराशा छाएको बताएका छन् ।
१९औँ गणतन्त्र दिवसको अवसरमा आयोजित मूल समारोहमा बोल्दै उहाँले जनताको जीवनस्तरमा अपेक्षाअनुसार परिवर्तन आउन नसकेको बताए । उनले राजनीतिक दल र राज्य संयन्त्रको काम गर्ने शैली तथा आनीबानीकै कारण जनताले पछिल्लो निर्वाचनमा गणतन्त्रका लागि संघर्ष गरेका दलहरूलाई सानो आकारमा सीमित बनाइदिएको टिप्पणी गरे ।
थापाले पुराना राजनीतिक दलहरूले गणतन्त्रलाई सही दिशामा अघि बढाउन नसक्दा जनताले नयाँ दललाई गणतन्त्रको मर्म र भावनाअनुसार काम गर्ने अपेक्षासहित प्रचण्ड मत दिएको उल्लेख गरे ।
उनले कर्मचारी तथा राजनीतिक दलहरूले आफ्नो सोच र कार्यशैली परिवर्तन गरी जनताको आवश्यकता र चाहनाअनुसार काम गर्न सके मात्रै ठूलो बलिदानबाट प्राप्त गणतन्त्रको सार्थकता रहने बताए ।
बागलुङमा दुईदिने कार्यक्रमसहित गणतन्त्र दिवस–२०८३ मनाइएको हो । दिवसका अवसरमा बिहीबार र शुक्रबार सरकारी कार्यालय तथा सार्वजनिक स्थलहरूमा सरसफाइ कार्यक्रम सञ्चालन गरिएको थियो । सुरक्षा निकायको संयोजनमा कालिका मन्दिर परिसरमा सामूहिक सरसफाइ कार्यक्रमसमेत आयोजना गरिएको थियो ।
यसैगरी, नेपाल रेडक्रस सोसाइटी, धौलागिरि प्रादेशिक अस्पताल र बागलुङ नगरपालिकाको सहकार्यमा रक्तदान कार्यक्रम तथा फरक क्षमता भएका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।
मूल समारोहअन्तर्गत बिहीबार बिहान सहिद पार्कमा सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै सहिद परिवारलाई सम्मान गरिएको थियो । साँझ जिल्लाभर दीप प्रज्वलन कार्यक्रमसमेत आयोजना गरिएको थियो ।