• २०८३ कार्तिक ५, बुधबार
  • 2026 October 21, Wednesday
  • Unicode Converter

बागलुङमा तेस्रो आदर्श कप फुटबल हुँदै

बागलुङ, १५ जेठ

तेस्रो संस्करणको आदर्श कप फुलबल प्रतियोगिता यही जेठ १८ देखि २४ गतेसम्म बाङ्गेचौर खेलमैदानमा सञ्चालन हुने भएको छ । आदर्श विद्यामन्दिर स्पोर्टस क्लबको आयोजना हुने प्रतियोगिताको पुरुषतर्फ १९ र महिलातर्फ आठ टिमको सहभागिता रहने आज आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष राजेश केसीले जानकारी दिए । प्रतियोगितामा बागलुङ नगरपालिकाभित्रका विद्यालयका खेलाडी टिमको सहभागिता रहने उनको भनाइ छ ।

तेस्रो संस्करणमा अहिलेसम्मकै धेरै टिमले सहभागिता जनाउन लागेको क्लबले जनाएको छ । पुरुषतर्फ विजेता हुने टिमले नगद रु. ७५ हजार सात सय ५० र उपविजेताले रु. ३७ हजार सात सय ५० प्राप्त गर्नेछ । महिलातर्फ हुने प्रतियोगिताको विजेता टिमले रु. ४० हजार र उपविजेताले रु. २० हजार पुरस्कार प्राप्त गर्ने जनाइएको छ । समेफाइनलमा पुग्ने पुरुषतर्फका दुवै टिमले जनही रु. २४ हजार र महिलातर्फका दुवै टिमले जनही रु. १२ हजार प्राप्त गर्नेछन् ।

प्रतियोगितामा पुरुषतर्फको उत्कृष्ट टिमलाई नगद रु. १० हजार, उत्कृष्ट खेलाडीलाई रु. १० हजार, उत्कृष्ट फरवार्डरलाई रु. पाँच हजार, उत्कृष्ट मिडफिल्डरलाई रु. पाँच हजार, उत्कृष्ट डिफेन्डर रु. पाँच हजार, उत्कृष्ट किप्परलाई रु. पाँच हजार र उत्कृष्ट कोचलाई रु. पाँच हजार प्रदान गरिने भएको छ । यस्तै म्यान अफ् द म्याच, बेष्ट गोल अवार्ड पनि प्रदान गरिने छ । महिलातर्फको प्रतियोगितामा पनि विभिन्न विधामा उत्कृष्ट हुने खेलाडी तथा टिमलाई पुरस्कार प्रदान गरिने क्लबका अध्यक्ष केसीले बताए । प्रतियोगिता सञ्चालन गर्न रु. १२ लाख ३२ हजार सात सय ५० खर्च लाग्ने जनाइएको छ ।

विद्यालय तहबाटै खेल प्रतिभाको पहिचान र खेलाडी उत्पादनका लागि प्रतियोगिताले सघाउने विश्वास लिइएको अध्यक्ष केसीले बताए । कार्यक्रममा जिल्ला फुटलब सङ्घका अध्यक्ष जय राजभण्डारीले पछिल्लो समय विद्यालय तहमा खोलिएका स्पोर्टस क्लबहरुले खेलकुद गतिविधि बढाएको बताए । अध्यक्ष राजभण्डारीसहित कार्यक्रममा सहभागी अतिथिहरुले संयुक्त रुपमा प्रतियोगिताको ट्रफी अनावरण गरेका थिए ।