बागलुङ, १३ जेठ
मानव सेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसन को संयुक्त अभियान अन्तर्गत सञ्चालित “मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा” मार्फत हालसम्म १३० जना सडक मानवको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये चार जना बागलुङबाट उद्धार गरिएको अभियान टोलीले जनाएको छ।
वैशाख २७ गते उद्घाटन गरिएको उक्त अभियान वैशाख २८ गते मेची पुलबाट सुरु भएको थियो। “यो झरी वर्षामा कोही पनि रहन नपरोस् सडकमा” भन्ने नारासहित सुरु गरिएको अभियान अहिले १७औँ दिनमा पुगेको छ। अभियान टोली बुधबार द्यबनगिलन आइपुगेको हो।
टोलीलाई बागलुङ नगरपालिका ले स्वागत कार्यक्रम आयोजना गरी स्वागत गरेको थियो। कार्यक्रममा सडकमा रहेका असहाय, बेसहारा तथा अशक्त व्यक्तिहरूको उद्धार र संरक्षणका लागि अभियान सञ्चालन गरिएको मानव सेवा आश्रमका केन्द्रीय महासचिव सुशिला केसी रुपा ले जानकारी दिइन्। उनले कसैले पनि सडकमा रहन नपरोस् भन्ने उद्देश्यका साथ अभियान सञ्चालन गरिएको बताइन्।
अभियान आगामी जेठ २२ गतेसम्म सञ्चालन हुने जनाइएको छ। मानव सेवा आश्रमका सातै प्रदेश र २३ जिल्लामा शाखा रहेका छन्। सडकबाट उद्धार गरिएका व्यक्तिहरूलाई नजिकको जिल्लामा व्यवस्थापन गरिने आश्रमले जनाएको छ।
स्वागत कार्यक्रममा आनी छोइङ डोल्मा ले आफ्नै सन्तानबाट बुढेसकालमा बेवास्ता गरिएका नागरिकहरूको अवस्था दर्दनाक रहेको उल्लेख गर्दै कुनै नातासम्बन्ध नभएका सडक मानवहरूको सेवामा समर्पित युवाहरूलाई देखेर आफू नतमस्तक भएको बताइन्। मानव सेवाभन्दा अर्को महान धर्म केही नभएकाले आफू पनि यस अभियानमा जोडिएको समाजसेवी छोइङले बताइन् । उनले बागलुङलाई ठूलो मन र सेवाभाव भएका मानिसहरूको बसोबास रहेको जिल्ला भनेर सुनेको भन्दै खुसी व्यक्त गरिन्।
छोइङले यात्रामा सहभागी हुन पाउँदा आफूलाई भाग्यमानी महसुस भएको बताउँदै जीवन बाँच्नका लागि सास जति आवश्यक हुन्छ, मानव जीवनमा सेवाभाव पनि त्यत्तिकै आवश्यक हुने धारणा राखिन्। जीवन सार्थक बनाउन सबैले सेवामा जोडिनुपर्ने उनको भनाइ थियो।
कार्यक्रममा राजु खड्का ले अभियानमा नगरपालिकाको पूर्ण साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका थिए।