बागलुङ, २८ वैशाख
श्री नं.२३ बाहिनी अड्डा बागलुङको आयोजनामा सोमबारदेखि ‘बाहिनीपति ट्रफी प्रतियोगिता–२०८३’ सुरू भएको छ । नेपाली सेनाको २३ नं. बाहिनी अन्तर्गत रहेका गण तथा गुल्महरूको सहभागितामा प्रतियोगिता सञ्चालन गरिएको हो ।
प्रतियोगिताको उद्घाटन बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठ र निमित्त बाहिनीपति महासेनानी जयराम बानियाँले संयुक्त रूपमा गर्नुभएको थियो ।
प्रतियोगितामा फुटबल, भलिबल, बास्केटबल, जुडो, बक्सिङ, तेक्वान्दो, स्विमिङ तथा एथलेटिक्स गरी आठ विधामा प्रतिस्पर्धा हुने जनाइएको छ ।
प्रतियोगितामा श्री नं. ३२ बाहिनी अड्डा, कालिजंग गण बागलुङ, इन्द्रवक्स गण मुस्ताङ, गुरुगोरख गुल्म म्याग्दी तथा नयाँ रणभिम गुल्म पर्वतका खेलाडीहरूको सहभागिता रहेको सेनानी श्यामबहादुर विकले जानकारी दिनुभयो ।
प्रतियोगिताबाट उत्कृष्ट छनोट भएका टिम तथा खेलाडीलाई पृतनापति ट्रफी प्रतियोगितामा सहभागी गराइनेछ । पृतनापति ट्रफीमा उत्कृष्ट हुने टिम तथा खेलाडीले प्रधानसेनापति ट्रफी प्रतियोगितामा सहभागिता जनाउने अवसर प्राप्त गर्नेछन् ।
वैशाख ३१ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका लागि चार जिल्लाबाट करिब २ सय ७० जना खेलाडी सहभागी भएका छन् । खेलमार्फत सेनाका सबै दर्जालाई अनुशासित बनाउने, स्वच्छ प्रतिस्पर्धाको भावना विकास गर्ने तथा राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगितालाई अवसरका रूपमा लिइएको निमित्त बाहिनीपति महासेनानी जयराम बानियाँले बताउनुभयो ।
