• २०८३ कार्तिक १, शनिबार
  • 2026 October 17, Saturday
  • Unicode Converter

‘ओमप्रसाद–मेघकुमार’ सम्मान राजभण्डारीलाई

बागलुङ, २६ वैशाख

विद्यामन्दिर पुस्तकालय, बागलुङमा स्थापित ‘ओमप्रसाद–मेघकुमार’ सम्मानबाट यशोदा राजभण्डारी सम्मानित हुनुभएको छ । पूर्वनर्स उहाँलाई कुष्ठरोगीको सेवा र अधिकार रक्षामा योगदान पु¥याए बापत सम्मान गरिएको हो ।

शनिबार आयोजित पुस्तकालयको ७७औँ वार्षिक साधारणसभामा गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री गोविन्दबहादुर नेपालीले राजभण्डारीलाई नगद रु. पाँच हजारसहित दोसल्ला र सम्मानपत्र प्रदान गर्नुभयो ।

कुष्ठरोगलाई जितेपछि नर्स बन्नुभएकी राजभण्डारीले पोखराको हरियो खर्क अस्पतालमा कुष्ठरोगीको उपचार र सेवामा २५ वर्ष बिताउनुभएको थियो । सम्मान ग्रहणपछि उहाँले कुष्ठरोगीको सेवामा आफ्नो जीवन समर्पित गरेको बताउनुभयो ।

उहाँ सानै छँदा कुष्ठरोगको लक्षण देखिएको थियो । क्याम्पस पढ्ने उमेरमा कुष्ठरोग निको भएपछि उहाँले नर्सिङ अध्ययन सुरु गर्नुभएको थियो । कुष्ठरोगीको हितमा क्रियाशील संस्था आइडिया नेपालको उहाँ अध्यक्षसमेत भएर काम गर्नुभएको थियो ।

सोही संस्थाको प्रतिनिधित्व गर्दै राजभण्डारी अमेरिकाको न्यूयोर्कमा आयोजित इन्टरनेशनल ल्याप्रोसी इफेक्टेड वुमन्स कन्फ्रेन्समा सहभागिता जनाउनुभएको थियो । मन्त्री नेपालीले राजभण्डारीको सङ्घर्षशील जीवन अरुका लागि प्रेरणादायी रहेको बताउनुभयो ।

आफै कुष्ठरोगबाट प्रभावित भई त्यसलाई जितेर कुष्ठरोगीको सेवामा जीवन समर्पित गर्नुभएकी राजभण्डारीको योगदानको कदर गर्दै सम्मान गरिएको पुस्तकालयका अध्यक्ष रामचन्द्र शर्माले बताउनुभयो । राजभण्डारी विसं २००९ मा बागलुङमा जन्मनुभएको थियो । हाल उहाँ पोखरामा बस्दै आउनुभएको छ । उहाँमा सामाजिक गतिविधिमा पनि क्रियाशील रहँदै आउनुभएको छ ।

पुस्तकालयका संस्थापक द्वय ओमप्रसाद गौचन र मेघकुमार वैद्यका नाममा स्थापित उक्त सम्मान बर्सेनि पुस्तकालयको साधारणसभामा प्रदान गरिँदै आएको छ । राणाकाल छँदा विसं २००३ मा स्थापित विद्यामन्दिर पुस्तकालय देशकै अग्रणीमध्येमा पर्छ । धवलागिरि क्षेत्रको शैक्षिक, सामाजिक, साँस्कृतिक र राजनीतिक जागरणको केन्द्रको रुपमासमेत यस पुस्तकालयलाई लिइन्छ ।