• २०८३ कार्तिक ५, बुधबार
  • 2026 October 21, Wednesday
  • Unicode Converter

धवलागिरि आरोहण दिवसको तयारी

पोखरा, वैशाख

संसारका आठ हजार मिटरभन्दा अग्ला १४ हिमालमध्ये सातौँ स्थानमा पर्ने धवलागिरि हिमालमा पहिलोपटक मानव पाइला पुगेको आगामी बुधबार ६६ वर्ष पूरा हुँदैछ । सन् १९६० मे १३ मा स्विस–अस्ट्रियन संयुक्त आरोहण दलका म्याक्स आइसेलिनको नेतृत्वमा गएका दुई नेपालीसहित सात जना आरोहीले धवलागिरि हिमालको सफल आरोहण गरेका थिए ।

सोही दिनको सम्झनामा हरेक वर्ष मे १३ मा धवलागिरि आरोहण दिवस मनाउने गरिएको छ । यसवर्ष पनि विविध कार्यक्रमसहित उक्त दिवस मनाउने तयारी भइरहेको ट्रेकिङ ऐजिन्सिज एसोसियसन अफ नेपाल (टान) गण्डकीले जनाएको छ । गत वर्ष पोखरामा ‘धवलागिरि पदयात्रा, समस्या, चुनौती र समाधान’ विषयक अन्तरक्रियासहित सो दिवस मनाइएकामा यसपटक धवलागिरि हिमालको काख म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदी गाउँमा दिवस मनाइने ‘टान’ गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले बताउनुभयो ।

“६६औँ धवलागिरि आरोहण दिवससहित धवलागिरि गाउँपालिकाका पर्यटकीय गन्तव्य तथा पदमार्ग प्रवद्र्धन कार्यक्रम एकैसाथ गर्दैछौँ”, उहाँले भन्नुभयो, “दिवसको औपचारिक समारोहमा धवलागिरि हिमाल आरोहण गरेका आरोहीहरुलाई सम्मान गरिनेछ ।” ‘टान’ गण्डकीको आयोजना, गण्डकी प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्डको प्रवद्र्धन र धवलागिरि गाउँपालिकाको समन्वयमा उक्त दिवस मनाउन लागिएको हो । कार्यक्रममा गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री यशोधा रिमालको प्रमुख आतिथ्यता रहने जनाइएको छ ।

आठ हजार एक सय ६७ मिटर अग्लो धवलागिरि हिमाल आरोहण गर्ने पहिलो आरोहण दलमा नेपालबाट निमा दोर्जी शेर्पा र ङवाङ्ग दोर्जी शेर्पा सम्मिलित हुनुहुन्थ्यो । धवलागिरि हिमालमा पहिलोपटक गरिएको आरोहणलाई नेपालको पर्वतारोणको इतिहासमा महत्वपूर्ण दिनका रुपमा स्मरण गर्ने गरिएको छ । हिमाल आरोहणसँगै पदयात्रा पर्यटनका लागि धवलागिरि क्षेत्रलाई विश्वकै आकर्षक गन्तव्यका रुपमा विकास गर्न सकिने ‘टान’ गण्डकीका अध्यक्ष अचार्यले बताउनुभयो ।

प्रचुर सम्भावना भएर पनि धवलागिरि क्षेत्र पर्यटन पूर्वाधार र प्रचारप्रसार अभावमा पछाडि परेको छ । विश्वप्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्ग नासिँदै र छोटिदैँ गएका बेला धवलागिरि चक्रीय पदमार्ग त्यसको विकल्प बन्न सक्ने पर्यटन क्षेत्रका अगुवा बताउँछन् । धवलागिरि हिमाल साहसिक पर्वतारोहीको आकर्षणमा पर्ने गरेको छ ।

नेपालका अन्य हिमालको भन्दा भिन्दै आरोहण अनुभव हुने आरोहीहरुको भनाइ छ । त्यहाँको भू–बनोट र हावापानीका कारण धवलागिरि हिमाल आरोहणलाई जोखिमयुक्त मानिन्छ । ‘टान’ गण्डकीका अध्यक्ष आचार्यले गण्डकी प्रदेशमा पर्ने आठ हजार मिटरमाथिका धवलागिरि, अन्नपूर्ण र मनाश्लु हिमाल आरोहण दिवसमा पर्यटन प्रवद्र्धनका कार्यक्रम गर्ने गरिएको बताउनुभयो ।