• २०८३ कार्तिक ५, बुधबार
  • 2026 October 21, Wednesday
  • Unicode Converter

विश्व बैङ्कको सहयोगमा शिशुवा–खुदीखोला सडक स्तरोन्नति

पोखरा, १४ वैशाख

कास्कीको पोखरा महानगरपालिका–३० शिशुवादेखि खुदीखोला जोड्ने सडक विस्तार एवं स्तरोन्नति आयोजना सम्पन्न भएको छ । शिशुवा–सिसाघाट सडकअन्तर्गत ४.१४ किमिको उक्त खण्ड नेपाल सरकार, सहरी विकास मन्त्रालय, सहरी विकास तथा भवन निर्माण विभागको समन्वय तथा विश्व बैङ्कको आर्थिक सहयोगमा पोखरा महानगरपालिकामा सञ्चालित नेपाल सहरी शासकीय तथा पूर्वाधार आयोजना अन्तर्गत उक्त सडक विस्तार एवं स्तरोन्नति गरिएको हो ।

पोखरा महानगरप्रमुख धनराज आचार्यले नेपाल सरकार अन्तर्गतका निकायसँगको समन्वय तथा सहकार्य र विश्व बैङ्कको आर्थिक सहयोगमा उक्त सडक निर्माण भएको बताउनुभयो । “पोखरामा अहिले ३३ अर्ब बढीका विभिन्न परियोजनाहरु सञ्चालित छन्, नेपालमा रहेका विकास साझेदारहरुको लगानी र परियोजना सञ्चालनमा महानगरले पहल लिँदै आएको छ”, उहाँले भन्नुभयो ।

उहाँले खुदीखोलादेखि अगाडिको खण्ड स्तरोन्नतिका लागि पनि विश्व बैङ्कको आर्थिक सहयोग ल्याउन महानगर लागिपरेको महानगरप्रमुख आचार्यले बताउनुभयो । विश्व बैङ्कै सहयोगमा निर्माणाधीन तालचोक–बेगनास सडक आयोजनामा ढिलासुस्ती भएको उल्लेख गर्दै उहाँले निर्माण कम्पनीलाई आगामी तीन महिनाभित्र निर्माण सम्पन्न गर्न समयसीमा दिइएको बताउनुभयो । उक्त सडकमा देखिएको जग्गाको मापदण्डलगायतका विवाद समाधान भइसकेकाले अब निर्माणले गति लिने उहाँको विश्वास छ ।

कास्कीको रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले शिशुवा–खुदीखोला सडकले रुपाका बासिन्दालाई पनि प्रत्यक्ष लाभ पुग्ने बताउनुभयो । उक्त सडकलाई कास्की, तनहुँ हुँदै लमजुङ जोड्ने गरी विस्तार तथा स्तरोन्नति गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । पोखरा महानगरपालिकाले अन्तर्राष्ट्रिय विकास साझेदारहरुको लगानी भित्राउन गरेको पहल सह्रानीय रहेको अध्यक्ष ओझाले बताउनुभयो ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालले पोखरा महानगरपालिका नागरिकहरूको अपेक्षा अनुसार पूर्वाधार निर्माणमा प्रतिबद्ध रहेको बताउनुभयो । लेखनाथ उद्योग वाणिज्य सङ्घकी अध्यक्ष जानुका पराजुलीले शिशुवा–खुदीखोला सडक लेखनाथ क्षेत्रकै नमुना सडका रुपमा निर्माण भएको बताउनुभयो । यातायात सेवा सहज हुनुका साथै आर्थिक गतिविधि वृद्धिमा उक्त सडकले टेवा पुग्ने उहाँको भनाइ छ ।

विश्व बैङ्कको ४८ करोड ९६ लाख ३५ हजार दुई सय ५४ रुपैयाँ आर्थिक सहयोगमा सडक निर्माण भएको आयोजनाका स्रोतव्यक्ति इन्जिनियर नवीन गौतमले जानकारी दिनुभयो । सडक नालीसहित १५ मिटरमा दुई लेन, १.५ मिटर साइकल लेन र २.५ मिटर फुट ट्रयाक रहेको उहाँको भनाइ छ । आशिष निर्माण सेवाले २०८१ वैशाख २ मा निर्माण सम्झौता गरेको थियो । सडक निर्माण समयमै सकिएको महानगरले जनाएको छ ।