बागलुङ, १२ वैशाख
नेपाली सेनाको पश्चिम पृतना हेडक्वार अन्तर्गत बागलुङको घोडाबाँधेस्थित कालीजंग गणमा सञ्चालित सि.सं ९ सैन्य आधार तालिमबाट ९७ जना सैनिक जवान दीक्षित भएका छन् । शुक्रबार सैन्य आधारभूत तालिमको समापनसँगै अन्तिम दलेल कवाज प्रदर्शन गरिएको कालीजंग गणका गणपति प्रमुख सेनानी शिवबहादुर अधिकारीले जानकारी दिनुभयो ।
दलेल कवाजको पश्चिम पृतना हेडक्वारका पृतनापति उपरथी भोलानाथ थापासहित उच्च सैनिक अधिकारी, जिल्लास्थित सुरक्षा निकायका प्रमुखलगायत विशिष्ट व्यक्तिहरूले निरीक्षण एवं अवलोकन गरेका थिए । त्यसक्रममा उपरथी थापाले नौ महिने सैन्य आधार तालिममा उत्कृष्ट सैनिक जवानहरूलाई पुरस्कार वितरण गर्नु भएको थियो ।
कार्यक्रममा सम्बोधन गर्दै उपरथी थापाले राष्ट्र, जनता र सेनाप्रति बफादार रही सैनिक सेवामा समर्पित रहन सकल दर्जालाई निर्देशन दिनुभयो । उहाँले सैनिक मर्यादा र अनुशासनको पालना गर्दै उच्च व्यावसायिक धर्म निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । उपरथी थापाले शिक्षा र तालिमलाई समयानुकूल परिमार्जन गर्दै लैजाने बताउनुभयो ।
“राष्ट्रको मेरुदण्ड सेना भएकाले सेना बलियो भएमात्र देश बलियो हुन्छ”, उहाँले भन्नुभयो, “दक्ष, तालिमप्राप्त, अनुशासित र कर्तव्य निष्ठ सैनिक सेनाको मेरुदण्ड हो।” उहाँले राष्ट्रिय स्वतन्त्रता, स्वाधीनता, भौगोलिक अखण्डता र राष्ट्रिय एकताको संरक्षणका लागि नेपाली सेना कटिबद्ध भएर अघि बढ्ने बताउनुभयो ।
सैन्य आधार तालिममा सर्वोकृष्ट हुने सैनिक जवान सुदेश मगरलाई श्रेष्ठताको प्रतीक स्वरूप खुकुरीद्वारा पुरस्कृत गरिएको थियो । कार्यक्रममा फायरिङ विधामा उत्कृष्ट राजन विष्ट, ड्रिल विधामा उत्कृष्ट सुनिल लिम्बु, १२ किलोमिटर दौडमा उत्कृष्ट पवन लंवा, ५ किलोमिटर दौडमा दीपेन रसाइली, बाधापार विधामा उत्कृष्ट सरोज राईलाई उपरथी थापाले पुरस्कार वितरण गर्नुभयो ।
तालिम समापन समारोहमा श्री नं। २३ बाहिनी अड्डा बागलुङका सहायक रथी विजय केसी, जिल्लास्थित जनप्रतिनिधिहरू, सुरक्षा निकायका प्रमुख, दीक्षित सैनिक जवानका परिवारजनलगायतको उपस्थिति रहेको थियो । तस्बिर संलग्न छ ।
