• २०८३ कार्तिक २, आइतबार
  • 2026 October 18, Sunday
  • Unicode Converter

बागलुङको विकासका लागि हरसम्भव प्रयास गर्नेछु – मन्त्री नेपाली

बागलुङ, ६ वैशाख

गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री गोविन्दबहादुर नेपालीले बागलुङका विकासका लागि आफ्नो तर्फबाट हरसम्भव प्रयास गर्ने बताएका छन् ।

नेकपा (एमाले) बागलुङ जिल्ला कमिटीद्वारा आइतबार आयोजित बधाई एवं भेटघाट कार्यक्रममा उनले जिल्लावासीको गुनासा सम्बोधन गर्ने गरी काम गर्ने बताए । “तुलनात्मक रुपमा विगतभन्दा केही उपलब्धी देखिने गरी जिल्लाका लागि काम गर्नेछु”, मन्त्री नेपालीले भने, “मन्त्रीका हिसाबले प्रदेशका ११ वटै जिल्लालाई हेर्नुपर्ने भएपनि बागलुङमा विकास योजना ल्याउने कुरामा मेरो थप प्रयास र प्राथमिकता रहनेछ ।”

उनले दसवटा स्थानीय तहका दसवटा प्राथमिकताप्राप्त योजना छनोट गरी मन्त्रालयमा पठाउन जिल्ला पार्टी कमिटीलाई आग्रह गरे । अन्य मन्त्रालयसँग पनि समन्वय गरेर जिल्लामा बजेट तथा योजना ल्याउने कुरामा आफ्नो पहलकदमी रहने मन्त्री नेपालीले उल्लेख गरे । “जिल्लाका सबै आवश्यकता र माग पूरा गर्न सम्भव नहोला, तर तुलनात्मक रुपमा हिजोभन्दा आज केही उपलब्धि भयो भन्ने अवस्था पक्कै बन्नेछ”, मन्त्री नेपालीले भने ।