पोखरा, २९ चैत
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा लगिएको ११ केभी डेडिकेटेड विद्युत् लाइनका पोल नहट्दा पोखरा–मुग्लिन सडक आयोजनाअन्तर्गत पोखरा खण्डको निर्माण प्रभावित भएको छ । कुँडहरमा रहेको विद्यत् सबस्टेशनदेखि विमानस्थलको प्रवेशमार्गसम्मका २९ वटा पोल नहट्दा सडकको सर्विस लेन र फुटफाथ निर्माण हुन नसकेको हो ।
सडक आयोजनाका प्रमुख इन्जिनियर कृष्णबहादुर कुँवरले विद्युत्का पोल हटाउन पटकपटक विमानस्थल कार्यालय र नेपाल विद्युत् प्राधिकरणलाई पत्राचार गरिएपनि कुनै सुनुवाई नभएको बताउनुभयो । विमानस्थलले कुँडहरचोकबाट आफ्नै संरचना बनाएर डेडिकेटेड लाइनमार्फत लगेको विद्युत् उपयोग गर्दै आएको छ ।
उक्त स्थानमा विद्युतीय तार भूमिगत गर्न संरचना बनाएबापतको भुक्तानी विमानस्थल कार्यालयबाट नहुँदासम्म विद्युत् पोल हटाउन नसकिने जानकारी प्राधिकरणले दिएको इन्जिनियर कुँवरले बताउनुभयो । नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाका प्रमुख इन्जिनियर आनन्द सुवेदीले विमानस्थल क्षेत्रमा तार भूमिगत गर्न संरचना तयार भइसकेपनि विमानस्थलले भुक्तानी नदिएसम्म सेवा सञ्चालन गर्न नसकिने बताउनुभयो ।
विमानस्थलले रु। एक करोड ६३ लाख प्राधिरणलाई तिनुपर्ने उहाँको भनाइ छ । “विमानस्थलको डेडिकेटेड लाइनलाई भूमिगत संरचनामा लैजादाँको खर्च प्राधिकरणलाई भुक्तानी भएपछि मात्र भूमिगत सेवा सुरु हुन्छ”, उहाँले भन्नुभयो, “भूमिगत प्रणाली सञ्चालनमा आएपछि विद्युत् पोल हट्छन्, सडक आयोजनाले आफै पनि हटाउन सक्छ ।”
भूमिगत लाइन सुरु नभएका कारण विमानस्थलमा अहिले पुरानै संरचनाको विद्यत् सेवा सञ्चालनमा छ । प्राधिकरणका इन्जिनियर सुवेदीले विमानस्थल व्यवस्थापनबाट रकम जम्मा गरिदिने आश्वासन मात्र आउने गरेको बताउनुभयो । “यस विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेलज्यूसँग आज नै पोखरामा छलफल भएको छ, मन्त्रालय तहबाट यसको समाधान हुनेमा हामी आशावादी छौँ”, उहाँले भन्नुभयो ।
निर्माणको भुक्तानी नआएसम्म भूमिगत विद्युतीय लाइन सञ्चालनमा ल्याउँदा पछि कानुनी समस्या पर्न सक्ने भन्दै प्राधिरणले पहिले विमानस्थलले रकम तिनुपर्ने अडान राख्दै आएको छ । कुँडहरचोकदेखि विमानस्थल प्रवेशमार्गसम्मको झण्डै एक किमि दुरीमा तार भूमिगत गर्नका लागि प्राधिकरणले संरचना निर्माण गरिसकेको छ । सडक आयोजनाका इन्जिनियर कुँवरले विद्युत पोलसँगै मापदण्डविपरीतका संरचना चाँडो हटाउन, खानेपानी पाइप, कटान गरिएका रुख आदिलाई स्थानान्तरण गर्न सम्बन्धित निकायमा ताकेका गरिएको बताउनुभयो ।
सडक आयोजनाको पश्चिम खण्ड ९पोखरा–जामुने०को निर्माण चालु आवभित्र सक्ने लक्ष्य लिइएकाले मापदण्डविपरीतका संरचना छिटो हटाउनुपर्ने उहाँको भनाइ छ । उक्त सडकको ठेक्का अवधि तेस्रोपटक थप भई आगामी असार १५ गतेसम्म कायम भएको छ । हालसम्म सडकको भौतिक प्रगति ७७।४७ र वित्तिय प्रगति ६२।२० प्रतिशत पुगेको छ ।
कुल ३८।७१ किमि दुरीको उक्त खण्डमा हालसम्म ३७।२८ किमिमा दोस्रो चरणको कालोपत्र भइसकेको छ । कुल ३६।३२ किमिको सर्विस लेनमा हालसम्म १७।६६ किमि कालोपत्र भइसकेको इन्जिनियर कुँवरले जानकारी दिनुभयो । विसं २०७८ माघमा ठेक्का भई विसं २०८० वैशाखदेखि निर्माण सुरु भएको विद्युतीय तार भूमिगत गर्ने आयोजनाको भौतिक प्रगति ६७ प्रतिशत पुगेको छ । नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत पोखराका मुख्य सहरी क्षेत्रमा विद्युतीय तार भूमिगत गर्न लागिएको हो ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल प्रवेशद्वारदेखि पृथ्वीचोकको सेती पुलसम्म तार बिछ्याएर घरघरमा विद्युत् वितरणसमेत भइसकेको इन्जिनियर सुवेदीले बताउनुभयो । अहिले सिर्जनाचोकदेखि सभागृह, पृथ्वीचोक, जिरो किलोमिटर क्षेत्र र लेकसाइडको जरेबर क्षेत्रमा तार बिछ्याउने काम भइरहेको उहँको भनाइ छ ।
