• २०८३ कार्तिक ६, बिहीबार
  • 2026 October 22, Thursday
  • Unicode Converter

हेमजा आलु महोत्सवको तयारी तीव्र

बागलुङ, २१ चैत्र

यही चैत २७ गतेदेखि वैशाख ५ गतेसम्म सञ्चालन हुने १४औँ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीव्र पारिएको छ। विष्णुपादुका क्लब हेमजाले शनिबार महोत्सव मूल आयोजक समितिका संयोजक वसन्तकुमार श्रेष्ठको अध्यक्षतामा तयारी विशेष भेला सम्पन्न गरेको हो।

भेलामा मूल आयोजक समिति तथा उपसमितिका संयोजक, सदस्यहरू, सरोकारवाला निकायका प्रतिनिधि र स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

छलफलका क्रममा उपसमितिका संयोजकहरूले हालसम्म सम्पन्न भएका कार्यहरूको प्रगति विवरण प्रस्तुत गरेका थिए। भेलाले विभिन्न क्षेत्रबाट उल्लेखनीय साथ, सहयोग र सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको निष्कर्ष निकालेको छ। साथै, आगामी २०८२ चैत्र २३ गते दिउँसो १ बजे विष्णुपादुका खेलमैदानस्थित क्लब भवन परिसरमा महोत्सवको पत्रकार सम्मेलन गर्ने निर्णय गरिएको छ।

मूल आयोजक समिति संयोजक तथा क्लब अध्यक्ष वसन्तकुमार श्रेष्ठले आलु महोत्सव पोखरा मात्र नभई समग्र देशकै पहिचान बनिसकेको उल्लेख गर्दै यसमार्फत कृषकलाई प्रोत्साहन गर्ने लक्ष्य रहेको बताए। उनले हेमजामा उत्पादन हुने आलु तथा अन्य ताजा तरकारीको प्रदर्शन तथा प्रचारप्रसार, कृषि पर्यटन प्रवर्द्धन, र स्थानीय पूर्वाधार विकासमा टेवा पुर्‍याउने उद्देश्य रहेको जानकारी दिए।

महोत्सवमार्फत क्लब भवन निर्माण, तरकारी सङ्कलन तथा बिक्री–वितरण केन्द्र स्थापना तथा विष्णुपादुका बहुउद्देश्यीय भवन निर्माण कार्यलाई पूर्णता दिने लक्ष्य समेत राखिएको छ।

भेलामा पूर्व अध्यक्ष रमेश कार्की र निवर्तमान अध्यक्ष सुबिन श्रेष्ठले विगतका अनुभवबाट सिक्दै आगामी महोत्सवलाई अझ व्यवस्थित, आकर्षक र नवीन कार्यक्रमसहित सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए।