• २०८३ कार्तिक ६, बिहीबार
  • 2026 October 22, Thursday
  • Unicode Converter

टेलिकमद्धारा थ्रीजी सेवा बन्दको तयारी, फोरजीमा निःशुल्क रुपान्तरण हुने

बागलुङ, १८ चैत

नेपाल टेलिकमले थ्रीजी प्रविधिलाई फोरजीमा रुपान्तरण गरिरहेको छ। नेपाल टेलिकमले निकट भविष्यमै आफ्नो थ्रीजी सेवा बन्द गर्ने भएकाले थ्रीजीलाई फोरजी प्रविधिमा रुपान्तरण गर्ने कार्य अघि बढाएको हो । थ्रिजी सिम चलाइरहेका आफ्ना सम्पुर्ण ग्राहकलाई निःशुल्क फोरजी सिम लिन टेलिकमले आग्रह गरेको छ ।

टेलिकमले थ्रीजी सिम प्रयोगकर्ताहरूलाई भ्वाइस कल तथा एसएमएसमार्फत सिम परिवर्तन गर्न जानकारी गराउन थालेको छ। ग्राहकले नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी वा सवारी चालक अनुमतिपत्रजस्ता आधिकारिक परिचयपत्र लिएर नजिकको दूरसञ्चार कार्यालयबाट आफ्नो पुरानो सिमलाई फोरजीमा निःशुल्क बदल्न सक्ने नेपाल टेलिकम बागलुङका प्रमुख कृष्णबहादुर थापाले बताए ।

थ्रीजीको तुलनामा फोरजी प्रविधिमा मोबाइल इन्टरनेटको गति र सेवाको गुणस्तर उत्कृष्ट हुने भएकाले यसबाट ग्राहकलाई फाइदा पुग्ने उनले बताए ।

आफ्नो सिम फोरजी हो वा होइन भनेर थाहा पाउन र उच्च गुणस्तरको भोल्टी सेवा सक्रिय गर्न मोबाइलबाट *444# डायल गर्न सकिने टेलिकमले जनाएको छ ।