• २०८३ कार्तिक ७, शुक्रबार
  • 2026 October 23, Friday
  • Unicode Converter

जापानमा दोस्रो चैत्राष्टमी मेला सम्पन्न

बागलुङ, १० चैत

बागलुङ समाज जापानको आयोजनामा टोकियोमा दुई दिनसम्म सञ्चालन गरिएको दोस्रो चैत्राष्टमी मेला सफलतापूर्वक सम्पन्न भएको छ।

बागलुङ जिल्लाको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक पहिचानलाई जापानमा प्रवर्द्धन गर्दै परदेशमा रहेका नेपाली समुदायलाई एकताबद्ध गर्ने तथा नयाँ पुस्तालाई नेपाली मौलिक संस्कृतिसँग परिचित गराउने उद्देश्यसहित मेला आयोजना गरिएको हो।

परदेशमा रहेर पनि नेपाली मौलिक परम्परा, संस्कृति र पहिचानलाई जोगाउने उद्देश्यले आयोजना गरिएको उक्त मेलामा उल्लेखनीय संख्यामा नेपाली समुदायको सहभागिता रहेको थियो। मेलामा विभिन्न सांस्कृतिक कार्यक्रम, लोकदोहोरी, परम्परागत खेलकुद तथा नेपाली परिकारहरूले विशेष आकर्षण थपेका थिए।

नेपालबाट आमन्त्रित कलाकारहरू तथा स्थानीय कलाकारहरूको सांगीतिक प्रस्तुतिले कार्यक्रमलाई थप जीवन्त बनाएको थियो। मेला स्थलमा निर्माण गरिएको बागलुङ कालिका मन्दिरको प्रतिकृति तथा बाघको शालिकले दर्शकहरूको विशेष ध्यान आकर्षित गरेको थियो।