• २०८३ कार्तिक ५, बुधबार
  • 2026 October 21, Wednesday
  • Unicode Converter

चैत्राष्टमी मेलाको तयारी अन्तिम चरणमा

बागलुङ, ८ चैत

बागलुङको ऐतिहासिक चैत्राष्टमी मेलाको तयारी अन्तिम चरणमा पुगेको छ । यही चैत १० देखि १४ गतेसम्म सञ्चालन हुने मेलाको ‘स्टल’ निर्माण, रमाइलो मेला व्यवस्थापन, प्रचारप्रसारलगायतका कामलाई तीव्र पारिएको आयोजक कालिका भगवती गुठी व्यवस्थापन समितिले जनाएको छ ।

समितिका अध्यक्ष एवं मेला मूल आयोजक समितिका संयोजक भूपेन्द्र खड्काले मेलामा स्थानीय उत्पादन, कला र संस्कृतिलाई प्राथमिकता दिइने बताए । “मेलाको तयारी अन्तिम चरणमा पुगेको छ, व्यवस्थापकीय काममा हामी केन्द्रित बनेका छौँ”, उनले भने, “ऐतिहासिक भएकाले चैत्राष्टमी मेलाको आफ्नै गौरव र पहिचान छ ।”

‘गन्तव्य बागलुङ कालिका–स्थानीय उत्पादनको प्रवद्र्धन, कला संस्कृति र समृद्धिको आधार, धार्मिक पर्यटन’ भन्ने नाराका साथमा आयोजना गरिएको मेलामा २ लाख पुरस्कार राशिको राष्ट्रिय लोक दोहोरीगीत प्रतियोगिता, ३ लाख पुरस्कार राशिको कालिका कप खुल्ला पुरुष भलिबल प्रतियोगिता, १ लाख पुरस्कार राशि सहित कालिका कप खुल्ला महिला भलिबल प्रतियोगिता, छेलो प्रतियोगिता, रथ यात्रा र रमाइलो मेला, बाल उद्यान लगायतका कार्यक्रम तय भएको अध्यक्ष खड्काले जानकारी दिए ।

कालिका भगवती मन्दिरको ऐतिहासिक धार्मिक एवम् सांस्कृतिक गरिमालाई अभिवृद्धि गर्ने उद्देश्यले आयोजित मेलाको लाखौँ दर्शकले प्रत्यक्ष अवलोकन गर्ने अनुमान गरिएको छ । कालिका भगवती मन्दिर परिसरमा रहेको कालिका कुञ्जमा चल्ने मेलामा प्रकाश सपुत, वसन्त थापा, शिव परियार, भूमिका गिरीलगायत कलाकारहरुको प्रस्तुति रहने जनाइएको छ ।

चैतेदसैँको नवरात्रभर विशेष पूजाआज हुने भएकाले टाढाटाढाबाट भक्तजन कालिका भगवती मन्दिरमा आउने गर्छन् । कालिका भगवतीसँग जोडिएको चैत्राष्टमी मेलाले लामो इतिहास र परम्परा बोकेको छ । मध्यकालमा पर्वत राज्य हुँदाका बखतदेखि नै बागलुङमा चैतेदसैँ मेला सुरु भएको हो ।

‘एक पैसा कहिलेलाई बागलुङको चैतेदसैँलाई।।।’ भन्ने गीत पनि सोही बेलादेखि गाइएको बताइन्छ । त्यो बेलामा एक पैसाको पनि ठूलो महत्व थियो । चैतेदसैँ मेलामा किनमेल गर्न जान पैसाको जोहो गर्नुपथ्र्यो । गाउँबाट किसानहरु स्थानीय उत्पादन लिएर मेलामा बेच्न आउँथे । भारतीय व्यापारी पनि आउने गर्थे । चैतेदसैँ मेला भर्न आउनेले वर्षदिनलाई चाहिने खानेकुरासहित घरायसी सामान किनेर लैजाने गर्थे । दशकौँअघि हालको बागलुङ बजार बसेको ठाउँमा ठूलो फाँट थियो । छेउछाउमा केही घरगोठ थिए ।

अहिले बागलुङ नगरपालिका–३ मा पर्ने किनाराटोलदेखि लालीगुराँसचोकसम्म चैतेदसैँ मेला लाग्थ्यो । खेतमा मान्द्रा र चित्राले बारबुर पारेका टहरामा बसेर व्यापारीले सामान बेच्ने गर्थे । भारतदेखि लुगाफाटा, मसला, मिश्री, नरिबललगायतका सामान बेच्न व्यापारी चैतेदसैँ मेलामा आउँथे । स्वतःस्फूर्त रुपमा लाग्ने मेला दुई हप्तासम्म चल्ने गरेको पाकापुराना बताउँछन् । मेलामा माटो, धातु र काठका भाँडाकुँडा बेच्न छुट्टाछुट्टै बिक्रीकक्ष हुन्थे ।

मेलामा गाउँगाउँबाट झर्ने युवायुवती सात दिन सातरातसम्म दोहारी ९झ्यारे० गाएर बस्ने गर्थे । कतिपयको मैलामै भएको चीनजानका आधारमा बिहेवारीसमेत हुन्थ्यो । अहिलेको किनाराटोलदेखि र लालीगुराँसचोकसम्मको क्षेत्रमा चैतेदसैँ मेला लाग्ने गथ्र्यो । हुम्ला, जुम्लादेखि भारतसम्मका व्यापारी मेलामा सामान बेच्न आउने गर्थे ।

काठका ठेकाठेकी, चोयाँबाट बन्ने डालाडाली, नाङ्ला, मान्द्रा, घरेलु हातहतियारलगायतका सामग्री बेच्न गाउँगाउँका व्यापारी मेलामा झर्थे । यातायातको सुविधासँगै बस्ती विस्तार हुन थालेपछि परम्परागत रुपमा बागलुङ बजार क्षेत्रमा लाग्दै आएको चैतेदसैँ मेला कालिका भगवती मन्दिर परिसरमा स¥यो ।

पहिले चैत्राष्टमी पर्वका दिनमा मात्र मन्दिर क्षेत्रमा उक्त मेला लाग्थ्यो । अहिले पनि चैत्राष्टमी मेला पारेर ग्रामिण भेगबाट ठेकाठेकी, डालाडाली, नाङ्ला आदि सामग्री बेच्न व्यापारी बागलुङ बजार आउने गर्छन् । मालसामान बेचेर वर्षभरिलाई घरखर्च जुटाउँछन् । गाउँका व्यापारीले लेकाली भेगमा पाइने निगालाको चोयाँबाट बन्ने स्थानीय उत्पादनलाई मेलामा बिक्री गर्दै आएका छन् । मेलामा कला, संस्कृति, खेलकुद, व्यापार र पर्यटन प्रवद्र्धनका विविध गतिविधि समेटिएको छ ।