नेपाली
निर्वाचनको मिति नजिकिएसँगै साझा वाम उम्मेदवार गैरेसे गाउँका मतदातासँगको भेटघाट अभियानलाई तीव्र बनाएका छन् ।
बागलुङ क्षेत्र नम्वर २ का तमानखोला गाउँपालिका, ढोरपाटन नगरपालिका र बडिगाड गाउँपालिकाका सबै वडाहरुमा मतदाता भेटघाट अभियान सकेर गृहनगर गलकोट नगरपालिकाका विभिन्न गाउँहरुमा अभियान सञ्चालन गरिएको हो ।
नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय जनमोर्चाका साझा उम्मेदवार गैरेले गलकोट नगरपालिका वडा नं ८ का चालिसेटोल, ज्यामिरे, थालेपोखरा, झारमौरा लगायत टोलका मतदाताहरुसँग अन्तरक्रिया गर्दै गैरेले राजनिति जनताको सेवा भएकाले आफु विद्यार्थी कालदेखी हालसम्म निरन्तर जनताको सेवामा लागेको बताए । उनले प्रतिनिधि सभा सदस्यमा निर्वाचित भए पश्चात् सबैले देख्ने गरी जनताको काम गर्ने बताए । गैरेले बागलुङ क्षेत्र नं. २ लाई राष्ट्रिय राजनीतिज्ञ जोड्नु र शुसासन तथा विकासका कार्यलाई अगाडि बढाउनु आफ्नो मुख्य एजेन्डा भएको बताए ।
कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य भवानी पन्त, राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव भिमलाल पोखरेल, नेपाली कम्युनिष्ट पार्टी गलकोट नगर अध्यक्ष गंगा बहादुर भुजेल, उपाध्यक्ष कौशिला घर्ती मगर लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रम निर्वाचन परिचालन समितिका संयोजक छम बहादुर गलामीको अध्यक्षता, वडा नं. ८ का ईन्चार्ज भिम शेरचनको स्वागत र नेपाली कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य राजिव घिमिरेको सञ्चालनमा सम्पन्न भएको थियो ।
यसैगरी गलकोट नगरपालिका वडा नं। २ मा संयुक्त निर्वाचन परिचालन समितिका ईन्चार्ज गुमानसिंह बुढाथोकी, संयोजक रन बहादुर बि।क, सहसंयोजक जीवन भण्डारीको नेतृत्वमा काउले, सिरबारे, पात्लेखोला र चौराहमा घरदैलो तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।
त्यस्तै नेपाली कम्युनिष्ट पार्टीका गण्डकी प्रदेश सदस्य चन्द्रदत्त रेग्मीको नेतृत्वमा वडा नं २ को जसपुरमा घरदैलो तथा भेटघाट कार्यक्रम सम्पन्न भएको थियो ।
