पोखरा, ८ फागुन
यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गण्डकी प्रदेशमा १४ हजार तीन सय ७६ जना कर्मचारी परिचालन गरिने भएको छ । प्रदेशका ११ जिल्लामा रहेका दुई हजार तीन सय ९६ मतदान केन्द्रमा ६ जनाका दरले कर्मचारी खटिने प्रदेश निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्रप्रसाद न्यौपानेले जानकारी दिए ।
एउटा मतदान केन्द्रमा एक जना मतदान अधिकृत, एक जना सहायक मतदान अधिकृत, तीन जना सहायक कर्मचारी र एक जना कार्यालय सहयोगी परिचालन हुने उनले बताए। हरेक मतदान केन्द्रमा तीन जना स्वयंसेवक पनि खटिने उनको भनाइ छ । जिल्लामा रहेका मुख्य निर्वाचन अधिकृतको कार्यालयमार्फत अहिले कर्मचारी व्यवस्थापनको काम भइरहेको छ ।
छनोट भएका मतदान अधिकृत, सहायक मतदान अधिकृतलगायत कर्माचारीलाई तालिम दिएर मतदान केन्द्रमा पठाइने कार्यालयले जनाएको छ । गण्डकी प्रदेशका ११ वटै जिल्लामा गरी एक हजार २९७ मतदानस्थल र दुई हजार ३९६ मतदान केन्द्र रहेका छन् । यस प्रदेशमा १८ लाख ७० हजार ६५ मतदाता कायम छन् ।
सबैभन्दा बढी कास्कीमा तीन लाख आठ हजार ५७२ मतदाता रहेका छन् । सबैभन्दा कम मनाङमा मतदाता सङ्ख्या जम्मा सात हजार छन् । स्याङ्जामा दुई लाख ४८ हजार ८१६, तनहुँमा दुई लाख ५४ हजार ३९७, नवलपुरमा दुई लाख ६८ हजार ५२६, गोखरामा दुई लाख २९ हजार ५८ र बागलुङमा एक लाख ९३ हजार १८१ मतदाता छन् ।
यस्तै लमजुङमा एक लाख ३७ हजार १२४, पर्वतमा एक लाख २५ हजार ४६६, म्याग्दीमा ८६ हजार ३९७ र मुस्ताङमा ११ हजार ३३८ मतदाता रहेका छन् । प्रदेशका कुल मतदातामध्ये नौ लाख १४ हजार ५३५ पुरुष, महिला नौ लाख ५५ हजार ५१६ र अन्य १४ जना रहेको छन् ।
गण्डकी प्रदेशमा विसं २०७९ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा १६ लाख ६२ हजार २४६ मतदाता थिए । अहिलेको चुनावमा दुई लाख सात हजार ८१९ नयाँ मतदाता थपिएका हुन् । गण्डकीमा १८ प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेका छन् ।