• २०८३ कार्तिक ५, बुधबार
  • 2026 October 21, Wednesday
  • Unicode Converter

पोखरामा मनाइयो राससको वार्षिकोत्सव

गण्डकी, ७ फागुन

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न सम्बद्ध सबैले निर्वाचन आचारसहिंताको पूर्ण पालना गर्नुपर्नेमा जोड दिइएको छ । राष्ट्रिय समाचार समिति (रासस)को ६५औँ वार्षिकोत्सवका अवसरमा रासस, गण्डकी प्रदेश कार्यालयले बुधबार पोखरामा आयोजना गरेको ‘निर्वाचन आचारसहिंतामा सञ्चार’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले आचारसहिंता कार्यान्वयनमा सञ्चार जगतको महत्वपूर्ण भूमिका हुने बताएका हुन् ।

कास्कीका मुख्य निर्वाचन अधिकृत हिमलाल बेल्बासेले निर्वाचन आचारसहिंता आचरणसँग मात्र जोडिएको विषय नभई निर्वाचन कानुनसँग पनि सम्बन्धित विषय भएको बताए । “आचारसहिंता आफैमा कानुन नभएपनि यसको उल्लङ्घन हुँदा अन्य कानुन आकर्षित हुन्छन्, तसर्थ यो कानुनी विषय पनि हो”, उनले भने, “निर्वाचन आचारसहिंता पालनामा सबै पक्ष जिम्मेवार हुनुपर्छ, यसको कार्यान्वयनमा सञ्चार क्षेत्रले यसको कार्यान्वयनमा निगरानी र खबरदारी गर्नुपर्छ ।”

पत्रकारले निर्वाचनसँग सम्बन्धित सूचनामा पहुँच, उपलब्धता र व्यापकता वृद्धि गरी जनस्तरमा सत्यतथ्य सूचना सम्प्रेषण गर्नुपर्ने मुख्य निर्वाचन अधिकृत बेल्बासेले बताए । निर्वाचनका बेला पत्रकारले थप संवेदनशीलता अपनाई निष्पक्ष र स्वतन्त्र रुपमा पेसागत धर्म निर्वाह गर्नुपर्ने उनको भनाइ थियो । राससले वार्षिकोत्सवका अवसरमा निर्वाचन आचारसहिंताका विषयमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरी राज्यप्रतिको दायित्व निभाएको उनले बताए ।

गण्डकी प्रदेशका प्रेस रजिष्ट्रार बिमला भण्डारीले आचारसहिंताको प्रभावकारी कार्यान्वयनमा सञ्चारमाध्यम र पत्रकारको भूमिका महत्वपूर्ण हुने बताए । उनले पत्रकार स्वयं पनि निर्वाचन आचारसहिंता पालनामा जिम्मेवार हुनुपर्ने बताए । नेपाली पत्रकारिताको विकासमा राससको योगदान महत्वपूर्ण रहेको प्रेस रजिष्ट्रार भण्डारीको भनाइ छ । उनले राससले आधिकारिक र विश्वसनीय सञ्चार संस्थाका रुपमा छुट्टै पहिचान बनाएको धारणा राखे ।

प्रेस काउन्सिलका सदस्य केशवशरण लामिछानेले निर्वाचन आचारसहिंता हरेकले स्वनियमनमा बस्नुपर्ने विषय रहेको बताए । उनले सञ्चारमाध्यम वा पत्रकारले आचारसहिंता उल्लङ्घन गरेका घटनामा प्रेस काउन्सिलले छानबिन र कारबाही गर्ने गरेको बताए । गण्डकी प्रदेश निर्वाचन कार्यालयका प्रमुख नारायण ढकालले आचारसहिंता कार्यान्वयनको अनुगमन भइरहेको बताए । उनले निर्वाचन आचारसहिंता कार्यान्वयनका सम्बन्धमा राजनीतिक दललगायत सरोकार भएका पक्षहरुसँग विभिन्न समयमा छलफल हुँदै आएको बताए । उनले निर्वाचनका लागि भएका तयारीबारे जानकारी गराए ।

राससका पूर्वकार्यकारी अध्यक्ष कोमलनाथ बरालले संस्थागत विकासमा राससले फड्को मार्दै गएको बताए । नेपाल पत्रकार महासङ्घ, गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेलले राससले आगामी दिनमा सेवाको गुणस्तर वृद्धिसँगै आफ्ना कमर्चारी र पत्रकारको वृत्तिविकासमा ध्यान दिनेमा विश्वास व्यक्त गरे । नेपाल पत्रकार महासङ्घ, कास्की शाखाका अध्यक्ष माधब बरालले पत्रकार आचारसहिंता पालनामा महासङ्घ आबद्ध पत्रकारहरुलाई जिम्मेवार र जवाफदेही बनाउन भूमिका खेल्ने बताए ।

रासस, गण्डकी प्रदेशका प्रमुख वासुदेव पौडेलको अध्यक्षमा भएको उक्त अन्तरक्रिया कार्यक्रममा पत्रकार माधव शर्मा, कृष्णप्रसाद बाँस्तोला, कमल पौडेल ‘अथक’, मोतीसागर अधिकारी, दीनानाथ बराल, शिव बस्ताकोटी, फडिन्द्र अकिञ्चनलगायतले आफ्ना सुझाव तथा जिज्ञासा राखेका थिए ।