पोखरा, ६ फागुन
मादक पदार्थ सेवन गरी स्कुल बस चलाएको आरोपमा जिल्ला प्रहरी कार्यालय, कास्कीले मङ्गलबार थप पाँच जना चालकलाई नियन्त्रणमा लिएको छ । यसअघि सोमबार मापसे गरी पोखरामा स्कुल बस चलाउने पाँच चालक पक्राउ परेका थिए ।
मङ्गलबार बिहान ट्राफिक प्रहरीसहितको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा मादक पदार्थ सेवन गरी स्कुल बस चलाउने रत्नज्योति बोर्डिङ स्कुलको ग.१ क ५९६२ नं. बसका चालक ४२ वर्षीय गोविन्द क्षेत्री र केइएफ सेकेण्डरी स्कुलको ग.१ क ४७३६ नं. बसका चालक ४५ वर्षीय सर्वजित रेग्मीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यस्तै गुरुकुल विद्यासदन बोर्डिङ स्कुलको ग.१ क १९५७ नं. बसका चालक ४७ वर्षीय दलबहादुर सुनार, इमानुयल बोर्डिङ स्कुलको ग.१ क ५००८ नं. बसका चालक ४७ वर्षीय मनबहादुर तामाङ र गण्डकी बोर्डिङ स्कुलको ग.१ क ६६२३ नं. बसका चालक ३० वर्षीय रोनिश खनाललाई मादक पदार्थ सेवन गरी बस चलाइरहेको अवस्थामा पक्राउ गरिएको कार्यालयका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए ।
सोही आरोपमा प्रहरीले सोमबार माउण्ट हेवन बोर्डिङ स्कुलको ग. १ क ३६७४ नं. बसका चालक ३३ वर्षीय आनन्द परियार र कुमुदिनी होम्स बोर्डिङ स्कुलको ग.१ क १३८२ नं.बसका चालक ३७ वर्षीय गौतम गुरुङ, बिन्देश्वरी बोर्डिङ स्कुलको ग. १ क ६२२१ नं. बसका चालक ४४ वर्षीय भक्तबहादुर गुरुङ, अञ्जली बोर्डिङ स्कुलको ग. १ क ६४३ नं. बसका चालक ४८ वर्षीय डम्बरबहादुर गुरुङ र एसओएस बोर्डि स्कुलको ग.१ क ६४३३ नं. बसका चालक ४७ वर्षीय पदम विकलाई पक्राउ गरेको थियो ।
मापसे गरी स्कुल बस चलाउने चालकलाई कानुनी कारबाहीका लागि प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ । पक्राउ परेका चालकमाथि अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको कार्यालयका प्रनाउ बस्नेतले बताए । प्रहरीले केही दिनयता पोखरामा स्कुल बस चेकजाँचलाई तीव्र बनाएको छ ।
