• २०८३ कार्तिक ३, सोमबार
  • 2026 October 19, Monday
  • Unicode Converter

गण्डकीमा २१ हजार किशोरीलाई ‘एचपिभी’ खोप लगाइने

पोखरा, २९ माघ

गण्डकीमा २१ हजार किशोरीलाई ‘एचपिभी’ खोप लगाइने पोखरा, २९ माघ गण्डकी प्रदेशमा यस वर्ष २१ हजार एक सय ३४ किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको ‘एचपिभी’ खोप लगाइने भएको छ । पोखरास्थित प्रादेशिक जनस्वास्थ्य केन्द्रका अनुसार सबैभन्दा धेरै कास्कीमा पाँच हजार छ सय ४९, नवलपुरमा तीन हजार पाँच सय ८५ र तनहुँमा दुई हजार छ सय २५ जना किशोरीलाई उक्त खोप प्रदान गरिने भएको हो ।

यस्तै बागलुङमा दुई हजार तीन सय दुई, गोरखामा एक हजार आठ सय ८०, स्याङ्जामा एक हजार सात सय ८९, लमजुङमा एक हजार दुई सय ५८, पर्वतमा नौ सय ५०, म्याग्दीमा नौ सय २६, मुस्ताङमा एक सय ४७ र मनाङमा २६ जनालाई ‘एचपिभी’ खोप लगाइने प्रादेशिक जनस्वास्थ्य केन्द्रका खोप अधिकृत एकनारायण लम्सालले जानकारी दिए । कक्षा छ मा अध्ययनरत २० हजार पाँच सय ५९, १० वर्ष उमेरका विद्यालय बाहिर रहेका एक सय ९१, गत वर्ष खोप लगाउन छुटेका कक्षा ७ देखि १० सम्मका तीन सय २७ र गत वर्ष खोप लगाउन छुटेका ११ वर्षदेखि १४ वर्षसम्मका २० जना किशोरीलाई यस वर्ष खोप दिइने भएको हो ।

गत वर्ष गण्डकीमा १० देखि १४ वर्ष उमेर समूहका सवा लाख बढी किशोरीलाई खोप लगाइएको थियो । ‘एचपिभी’ खोपलाई यस वर्षदेखि नियमित खोप कार्यक्रममा समावेश गरी कक्षा छ मा अध्ययनरत किशोरी र विद्यालय बाहिर रहेका १० वर्षका किशोरीलाई खोप लगाउन सुरु गरिएको खोप अधिकृत लम्सालले बताए । प्रदेशका केही जिल्लामा ‘एचपिभी’ खोप अभियान सुरु भइसकेको र केही जिल्लामा अभियान सञ्चालनको तयारी भइरहेको जनाइएको छ । हिमालपारिको जिल्ला मुस्ताङ र मनाङमा भने आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनपछि खोप लगाइने प्रादेशिक जनस्वास्थ्य केन्द्रले जनाएको छ ।

१८ सय ४० विद्यालय र आठ सय ६० सामुदायिक खोप केन्द्र गरी कुल २७ सय खोप केन्द्रबाट खोप सेवा सञ्चालन गरिने भएको छ । खोप अभियानका लागि १७ सय ८७ स्वास्थ्यकर्मी र १८ सय ६६ जना स्वयंसेवक परिचालन हुने जनाइएको छ । पाठेघरको मुखको क्यान्सर हुनबाट किशोरीहरुलाई सुरक्षित गर्ने लक्ष्यसहित देशव्यापी रुपमा ‘एचपिभी’ खोप अभियान सञ्चालन भइरहेको हो । नेपालमा पाठेघरको मुखको क्यान्सरका बिरामी र मृत्यु हुनेको संख्या हरेक वर्ष उच्च रहेकाले उक्त रोग निवारणमा खोप अभियानले योगदान पु¥याउने खोप अधिकृत लम्सालले बताए ।

‘एचपिभी’ खोपले पाठेघरको मुखको क्यान्सर हुने जोखिमलाई ९८ प्रतिशतले घटाउने उहाँको भनाइ छ । उहाँका अनुसार पाठेघरको मुखको क्यान्सर नेपालमा महिलालाई सबैभन्दा बढी लाग्ने क्यान्सरको दोस्रो स्थानमा पर्छ । क्यान्सरको कारणबाट महिलाहरुको मृत्यु हुनेमा भने पहिलो मुख्य कारण पाठघरको क्यान्सर रहेको छ । ‘ह्यूमन प्यापिलोमा’ भाइरसबाट सङ्क्रमित व्यक्तिको यौनाङ्गको छाला, ‘म्युकस मेम्ब्रेन’ यौनाङ्गबाट निस्कने तरल पदार्थसँगको सम्पर्कबाट यो रोग सर्ने चिकित्सकहरु बताउँछन् ।

मानव शरीरमा क्यान्सर गराउने उच्च जोखिम भएका ‘एचपिभी’ भाइरसको पटकपटक सङ्क्रमण भएर २० वर्षसम्म रहिरहेमा पाठेघरको मुखको क्यान्सर हुने गरेको उनीहरुको भनाइ छ । नेपालमा हरेक वर्ष दुई हजार एक सय ६९ जना महिलालाई पाठेघरको मुखको क्यान्सर हुने र यसबाट बर्सेनि एक हजार तीन सय १३ जना अर्थात् औसतमा प्रत्येक दिन ४ जना महिलाको मृत्यु हुने अनुमान गरिएको छ ।