• २०८३ कार्तिक ३, सोमबार
  • 2026 October 19, Monday
  • Unicode Converter

बागलुङमा फागुनमा ‘एचभिपी’ खोप अभियान संचालन हुने

बागलुङ, २६ माघ

बागलुङमा आगामी फागुन १ गतेदेखि १५ गतेसम्म पाठेघरको मुखको क्यान्सरविरूद्धको ‘एचभिपी’ खोप अभियान संचालन गरिने भएको छ । अभियानमार्फत जिल्लाका दुई हजार तीन सय दुई किशोरीलाई उक्त खोप प्रदान गरिने प्रदेश जनस्वास्थ्य कार्यालय, बागलुङका खोप सुपरभाइजर राजु खत्रीले जानकारी दिए ।

कक्षा ६ मा अध्यनरत दुई हजार दुई सय ९१ जना र विद्यालय बाहिर रहेका ११ जना गरी कुल दुई हजार तीन सय दुई जना किशोरीलाई यो खोप प्रदान गर्न लागिएको उनले बताए ।

जिल्लाका दस वटै स्थानीय तहका विद्यालय र विभिन्न खोप केन्द्रमा छुट्टाछुट्टै मितिमा खोप अभियान संचालन गरिने भएको हो । छ कक्षाको पढाइ हुने जिल्ला सबै विद्यालय, सामुदायिक खोप केन्द्र गरी कुल दुई सय ९७ वटा खोप केन्द्रबाट किशोरीहरूलाई खोप प्रदान गरिने भएको हो । खोप संचालनका लागि दुई सय ९७ जना स्वास्थ्यकर्मी र सोही संख्यामा स्वयंसेवक खटिने जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

गत वर्ष खोप लगाउन छुटेका किशोरीलाई पनि खोप प्रदान गरिने खोप सुपरभाइजर खत्रीले बताए । “एचभिपी खोप यस वर्षदेखि नियमित खोप कार्यक्रममा समावेश भएको छ”, उनले भने “६ कक्षामा अध्ययनरत किशोरी र यदि कोही विद्यालय बाहिर रहेको भए १० वर्ष उमेर पुगेको किशोरीलाई यो खोप लगाइन्छ ।” गत वर्ष कक्षा ६ देखि १० कक्षा सम्म अध्ययनरत र विद्यालय बाहिर रहेका १० देखि १४ वर्षभित्रका किशोरी गरी कुल ११ हजार एक सय ७७ जनालाई यो खोप प्रदान गरिएको थियो ।

पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपिभी’ खोप प्रारम्भिक किशोरावस्थामा दिँदा बढी प्रभावकारी हुने स्वास्थ्यकर्मी बताउँछन् । खोप अभियान संचालनको तयारीका विषयमा आइतबार बसेको जिल्ला खोप समन्वय समितिको बैठकले खोपको पहँचबाट कसैलाई पनि बञ्चित गराउन नहुनेमा जोड दिइएको थियो ।

बैठकमा उक्त समितिका प्रमुख एवं जिल्ला खोप समन्वय समितिका प्रमुख अम्मरबहादुर थापा, सहायक प्रमुख जिल्ला अधिकारी नवराज बराल, जनस्वास्थ्य कार्यालयका प्रमुख प्रविण शर्मालगायतको सहभागिता रहेको थियो ।