• २०८३ कार्तिक २, आइतबार
  • 2026 October 18, Sunday
  • Unicode Converter

गण्डकीमा निर्वाचन सुरक्षार्थ सात हजार बढी प्रहरी परिचालन हुने

पोखरा, २४ माघ
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षार्थ गण्डकी प्रदेशका ११ जिल्लामा सात हजार एक सय ४० प्रहरी परिचालन गरिने भएको छ । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा एक हजार तीन, मनाङमा एक सय ६३, लमजुङमा छ सय छ र कास्कीमा नौ सय ५७ प्रहरी परिचालन हुनेछन् ।
यस्तै तनहुँमा आठ सय ३८, स्याङ्जामा नौ सय ४०, नवलपुरमा आठ सय १८, मुस्ताङमा दुई सय दुई, म्याग्दीमा चार सय ११, बागलुङमा छ सय ५८ र पर्वतमा चार सय ३९ जना प्रहरी परिचालन हुने कार्यालयका सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक तुलबहादुर कार्कीले जानकारी दिनुभयो ।
चारवटै सुरक्षा निकायको एकीकृत सुरक्षा योजना बमोजिम नेपाल प्रहरी मतदानस्थलको भित्री घेराको सुरक्षा खटिने उहाँको भनाइ छ । नेपाली प्रहरीसँगै निर्वाचन प्रहरी पनि पहिलो तहको सुरक्षा घेरामा परिचालित हुनेछ । प्रदेशमा १४ हजार १२ जना निर्वाचन प्रहरी खटाइने प्रहरी वरिष्ठ उपरीक्षक कार्कीले बताउनुभयो ।
निर्वाचन प्रहरीको छनौट र नियुक्तीपछि अहिले सुरक्षा तालिम सञ्चालन भइरहेको उहाँको भनाइ छ । दोस्रो तहको सुरक्षा घेरामा सशत्र प्रहरी बल र सुरक्षा घेराको बाहिरी तहबाट नेपाली सेनाले सुरक्षा प्रदान गर्ने जनाइएको छ । १८ प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको यस प्रदेशमा कुल कुल १८ लाख ७० हजार ६५ मतदाता रहेका छन् ।
प्रदेश निर्वाचन कार्यालय, पोखराका अनुसार सबैभन्दा बढी कास्कीमा तीन लाख आठ हजार पाँच सय ७२ मतदाता रहेका छन् । सबैभन्दा कम मनाङमा मतदाता संख्या जम्मा सात हजार रहेको छ । स्याङ्जामा दुई लाख ४८ हजार आठ सय १६, तनहुँमा दुई लाख ५४ हजार तीन सय ९७, नवलपुरमा दुई लाख ६८ हजार पाँच सय २६, गोखरामा दुई लाख २९ हजार ५८ र बागलुङमा एक लाख ९३ हजार एक सय ८१ मतदाता रहेका छन् ।
यस्तै लमजुङमा एक लाख ३७ हजार एक सय २४, पर्वतमा एक लाख २५ हजार चार सय ६६, म्याग्दीमा ८६ हजार तीन सय ९७ र मुस्ताङमा ११ हजार तीन सय ३८ मतदाता रहेका छन् । प्रदेशका ११ वटै जिल्लामा गरी १२ सय ९७ मतदानस्थल र २३ सय ९६ मतदान केन्द्र रहेको जनाइएको छ ।