• २०८३ कार्तिक ३, सोमबार
  • 2026 October 19, Monday
  • Unicode Converter

बागलुङमा एक सय १५ नाल अवैध भरुवा बन्दुक बरामद

बागलुङ, २१ माघ

प्रहरीले बागलुङका विभिन्न स्थानबाट एक सय १५ नाल अवैध भरुवा बन्दुक बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा नियन्त्रणमा लिइएका भरुवा बन्दुक सार्वजनिक गरिएको हो । कार्यालयका प्रमुख प्रहरी उपरीक्षक तिलक भारतीले गत ४५ दिनमा सो संख्यामा अवैध हतियार बरामद गरिएको बताए ।

इलाका प्रहरी कार्यालय, बुर्तिबाङ अन्तर्गत ६६ नाल, इलाका प्रहरी कार्यालय, गलकोटमार्फत ४५ नाल र इलाका प्रहरी कार्यालय, बरेङबाट चार नाल गरी कुल एक सय १५ नाल भरुवा बन्दुक बरामद गरिएको हो । प्रतिनिधिसभा सदस्य निर्वाचनपूर्व प्रहरीले अवैध हातहतियार नियन्त्रणका लागि विशेष अपरेशन सञ्चालन गरिएको प्रहरी उपरीक्षक भारतीले बताए ।

“यो अभियान निरन्तर सञ्चालन हुन्छ, अवैध हातहतियार राख्ने व्यक्ति फेलामा परेमा मुद्दा चलाउँछौँ”, उनले भने, “जंगल र अन्यत्र ठाउँमा बेवारिसे अवस्थामा छाडिएका अतियार बरामद गरिएको हो ।” निर्वाचनको शान्ति सुरक्षालाई दृष्टिगत गरी इजाजतप्राप्त हातहतियार बुझाउन आग्रह गरिएकामा हालसम्म १९ थान त्यस्ता हातहतियार सम्बन्धित हतियारधनीबाट प्राप्त भएको प्रहरी उपरीक्षक भारतीले जानकारी दिए ।