• २०८३ कार्तिक ४, मङ्गलबार
  • 2026 October 20, Tuesday
  • Unicode Converter

ज्ञानोदय बुद्ध बिहारमा महापरित्राण पाठ हुने

बागलुङ, २० माघ

ज्ञानोदय बुद्ध बिहार, बागलुङको आयोजनामा माघ २६ गते महापरित्राण पाठ हुने भएको छ। मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत बागलुङमा पहिलोपटक महापरित्राण पाठ हुन लागेको जानकारी गराइएको हो।

बुद्धको वाणीलाई जनमानसमा पु¥याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको ज्ञानोदय बुद्ध बिहारका अध्यक्ष लिलाम्बर बज्राचार्यले बताए। उनले प्राचीन धर्म,संस्कृतिमाथि दिनप्रतिदिन पश्चिमेली संस्कृतिको प्रभाव बढ्दै गएको उल्लेख गर्दै त्यसको न्यूनीकरणका लागि पनि यो कार्यक्रम आयोजना गरिएको स्पष्ट पारे।

कार्यक्रममा भिक्षु महासंघबाट ४० जना भिक्षुहरूको सहभागिता रहनेछ भने करिब ५०० जना बौद्ध धर्मावलम्बीको उपस्थिति रहने जनाइएको छ। महापरित्राण पाठअन्तर्गत २९ वटा सूत्रपाठ गरिने जनाइएको छ।

कार्यक्रमका लागि करिब १० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ। खर्च व्यवस्थापनका लागि मुख्य दाता सुर्जबहादुर थापा र सुकमाया थापाबाट ५ लाख रुपैयाँ सहयोग प्राप्त भएको तथा अन्य १३ जना सह–दाताबाट पनि आर्थिक सहयोग जुटेको समितिका सचिव रम्बादेबि शाक्यले जानकारी दिइन्।

यस अवसरमा भिक्षु महेन्द्रले महापरित्राण पाठको महत्वबारे धर्मदेशना प्रदान गर्दै बुद्ध धर्म केवल धर्म मात्र नभई ज्ञान र आचरण सिक्ने मार्ग भएको बताए।