• २०८३ कार्तिक ५, बुधबार
  • 2026 October 21, Wednesday
  • Unicode Converter

प्रधानन्यायाधीशद्वारा उच्च अदालत पोखरा बागलुङ इजलासको भवन उद्घाटन

बागलुङ, ९ माघ

प्रधानन्यायाधीश प्रकाशमान सिँह राउतले उच्च अदालत पोखरा, बागलुङ इजलासको नवनिर्मित भवनको शुक्रबार उद्घाटन गरेका छन् । भवन उद्घाटनपछि उनले सुविधासम्पन्न भवनबाट अदालतको सेवा प्रवाह थप सहज हुने विश्वास व्यक्त गरे । प्रधानन्यायाधीश राउतले न्यायलयप्रतिको जनविश्वास कम हुन नदिन गुणस्तरीय तवरले सेवा दिनुपर्ने बताए । आन्दोलनका नाममा न्यायलयप्रति प्रहार गरिएपनि न्याय कहिल्यै नमर्ने धारणा राखे ।

कार्यक्रममा सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदी, न्याय परिषद्का सदस्य महेशकुमार नेपाल, नेपाल बार एसोसिएसनका अध्यक्ष प्राडा विजयप्रसाद मिश्र, बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठ, बागलुङ बारका अध्यक्ष गीता श्रीस, वरिष्ठ अधिवक्त पद्य्मनाथ शर्मालगायतले मन्तव्य व्यक्त गरेका थिए । रु. ५७ करोड २४ लाखको लागतमा अत्याधुनिक सुविधासम्पन्न अदालत भवन बनेको हो । भवनमा छ वटा इजलास कक्ष, अतिथि गृह, न्यायाधीश, रजिष्ट्रार, कर्मचारी र सुरक्षाकर्मीको आवास भवन पनि निर्माण गरिएको छ ।

भवन उद्घाटन समारोहमा उच्च अदालत पोखराका मुख्य न्यायाधीश डा रत्नबहादुर बागचनको अध्यक्षता, बागलुङ इजलासका मुख्य न्यायाधीश नातिबाबु लामिछानेको स्वागत मन्तव्य र शाखा अधिकृत ऋषिराम रिजालको सञ्चालनमा सम्पन्न भएको थियो । विभिन्न मौलिक गीत तथा नृत्य प्रस्तुतिसहित भवन निर्माणमा खटिएका इन्जिनियर, निर्माण व्यवसायीलगायतलाई कार्यक्रममा सम्मान गरिएको थियो ।