बागलुङ, ६ माघ
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा बागलुङमा नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय जनमोर्चाबीच सहकार्य हुने भएको छ ।
बागलुङ–१ मा दुवै दलको साझा उम्मेदवारका रुपमा राजमोका कृष्णप्रसाद अधिकारी र बागलुङ–२ मा ज्ञामनाथ गैरे ‘अनिल’लाई उम्मेदवार बनाउने निर्णय भएको मंगलबार पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको हो ।
कम्युनिष्ट र क्रान्तिकारी शक्तिहरुबीचको चुनावी सहकार्यले उम्मेदवारहरुलाई जित्न सहज हुने दुवै दलका नेताहरुले बताएका छन् । २०७९ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा तत्कालीन गठबन्धनबाट बागलुङ–१ मा राजमोका चित्रबहादुर केसी र २ बाट नेकपाका देवेन्द्र पौडेल विजयी भएका थिए ।
पत्रकार सम्मेलनमा दुवै उम्मेदवारसहित दुवै दलका नेताहरु चुनावी सहकार्यको औचित्यका बारेमा धारणा राखेका थिए । उनीहरु चुनावमा विजय हाँसिल गर्न मात्र नभएर जिल्लाको समग्र विकास र समृद्धिका लागि सहकार्य गरिएको बताए ।
दुई कम्युनिष्टबीचको सहकार्यले जिल्लामा वाम एकताका लागि समेत आधार तयार गर्ने जनाइएको छ । कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य कृष्ण केसी, चन्द्रबहादुर बुढा ‘सागर’, राजमोका जिल्ला अध्यक्ष तिलक थापालगायतले भनाइ राखेका थिए ।
