• २०८३ कार्तिक २, आइतबार
  • 2026 October 18, Sunday
  • Unicode Converter

नेकपाबाट बागलुङ–२ मा उम्मेदवार बनेका गैरे को हुन् ?

बागलुङ, ४ माघ

नेपाली कम्युनिष्ट पार्टीले बागलुङ–२ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा ज्ञामनाथ गैरै ‘अनिल’लाई उम्मेदवार बनाउने निर्णय गरेको छ । गलकोट नगरपालिका–६ का गैरे पार्टीका विभिन्न जिम्मेवारीमा लामो समयदेखि सक्रिय रहेपनि निर्वाचनमा पहिलोपटक उम्मेदवार बनेका हुन् ।

२०७९ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा उक्त क्षेत्रबाट नेकपाकै नेता देवेन्द्र पौडेल विजयी बनेका थिए । जिल्लाबाट उम्मेदवार सिफारिस हुँदा पहिलो नम्बरमा रहेका गैरे नेकपाका केन्द्रीय सदस्य एवं तत्कालीन नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेशका उपाध्यक्षसमेत हुन् । २०५० सालदेखि अखिल क्रान्तिकारीबाट विद्यार्थी राजनीति सुरू गरेका गैरे अखिल क्रान्तिकारी बागलुङको जिल्ला सचिव, अध्यक्ष हुँदै २०५७ सालमा केन्द्रीय सदस्य भएका थिए ।

तत्कालीन नेकपा (माओवादी) ले संचालन गरेको जनयुद्धको बेला जेल जीवनसमेत बिताएका गैरे २०५९ सालमा नेकपा (माओवादी) बागलुङको जिल्ला सेक्रेटरीको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेका थिए ।

उनी राज्य समिति हुँदै पार्टीको केन्द्रिय समितिको सदस्य भएका थिए । पार्टीको जिल्ला सचिवसमेत भएर काम गरेका थिए । बौद्धिक र शालिन स्वभावका गैरे कार्यकर्ता र जनताकाबीच स्थापित नेता हुन् । पार्टी शान्तिपूर्ण राजनैतिक यात्रामाआएपछि दुई दशक पार्टी राजनीतिमा कठोर यात्रा गरेका गैरेले जनपक्षीय राजनीति, पार्टी र संगठनका लागि आफनो जीवन समर्पण गरेका छन् ।

उनले जनयुद्धको आधार क्षेत्र ताराखोलामा सहिद मार्ग निर्माण समितिको नेतृत्व गरेका थिए । भूकम्पको समयमा गोरखाको गुम्दा र लापु गाउँमा स्कुल र स्वास्थ्यचौकी पुनर्निमाणमा नेतृत्व गरेर अभियान सफल पारेका थिए । नेकपाले बागलुङ–२ बाट गैरेसहित कमलप्रसाद घिमिरे, हर्क थापा, केशरी घर्ती मगर, चन्द्रलाल अर्याल, दिवस खत्री, अभिषेकजंग र्सिपालीको नाम सिफारिस गरेको थियो ।