• २०८३ कार्तिक ४, मङ्गलबार
  • 2026 October 20, Tuesday
  • Unicode Converter

गलकोटको नगरसभाबाट विभिन्न विधेयक र कार्यविधि पारित

बागलुङ, २५ पुस

गलकोट नगरपालिकाको १८औँ नगरसभाले खानेपानी तथा सरसफाइ र स्वच्छता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०८२ लगायत विभिन्न विधेयक तथा कार्यविधि पारित गरेको छ ।

शुक्रबार सम्पन्न नगरसभाबाट लेखा समितिको कार्य सञ्चालन कार्यविधी–२०८२, गलकोट नगरपालिको न्यायिक समिति कार्यविधि सम्बन्धी ऐन, २०७५ लाई पहिलो संसोधन गर्न बनेको विधेयक र मेलमिलाप सम्बन्धी विधेयक–२०८२, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०८२ पारित गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्मरबहादुर जिसीले जानकारी दिए ।

नगरसभामा नगरप्रमुख भरत शर्मा गैरेले आव २०८२/०८३ को हालसम्म भएको आम्दानी–खर्चको विवरण र नीति तथा कार्यक्रमको लक्ष्य तथा उद्देश्य अनुसार सम्पादन गरिएका कार्यहरुको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । चालु आवको कुल बजेट रु. ७१ करोड ७४ लाख ७ हजार ६ सय रुपैयाँमध्ये रु. २१ करोड १२ लाख २९ हजार खर्च भएको उनले उल्लेख गरे । चालुतर्फ ३७ दशमलव ६४ प्रतिशत र पूँजीगत तर्फ ५ दशमलव ७५ प्रतिशत खर्च भएको जानकारी दिए ।

नगरसभामा नगर उपप्रमुख फमलाल निउरेले विनियोजन ऐन संशोधन गर्न बनेको विधेयक–२०८२ र गलकोट नगरपालिकाको चालु आवको कार्यक्रम र बजेट संशोधन प्रस्ताव प्रस्तुत गरेका थिए । नगर सभाले न्यायिक समितिको प्रतिवेदन, सामाजिक विकास समितिको प्रतिवेदन, आर्थिक विकास समितिको प्रतिवेदन, पूर्वाधार विकास समितिको प्रतिवेदन, सुशासन समितिको प्रतिवेदन र विपद् व्यवस्थापन समितिको प्रतिवेदन पारित गरेको छ । नगरसभाले विभिन्न कार्यक्रम तथा योजनामा बजेट रकामान्तर तथा संशोधन गर्ने निर्णय गरेको नगर उपप्रमुख फमलाल निउरेले बताए ।