पोखरा, १८ पुस
पदयात्रा पर्यटनका लागि विश्वप्रसिद्ध गन्तव्य अन्नपूर्ण क्षेत्रमा सन् २०२५ मा दुई लाख ९९ हजार आठ सय ३१ जना विदेशी पर्यटक भित्रिएका छन् । ती मध्ये दक्षिण एसियाली मुलुकका एक लाख ७७ हजार छ सय २८ र अन्य मुलुकका एक लाख २२ हजार दुई सय तीन रहेका छन् ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप०का अनुसार उक्त सङ्ख्या हालसम्मकै बढी हो । यसअघि सबैभन्दा धेरै सन् २०२४ मा दुई लाख ४४ हजार ४५ पर्यटकले उक्त क्षेत्रको भ्रमण गरेका थिए ।
सन् २०१९ मा एक लाख ८१ हजार पर्यटक भित्रिएकामा त्यसयता कोभिड(१९ महामारीका कारण पर्यटक आगमन घटेको थियो । उक्त महामारी छँदा सन् २०२१ मा जम्मा १६ हजार एक सय पाँच पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका थिए । त्यसको अर्को वर्ष अर्थात् सन् २०२२ मा जम्मा एक लाख २९ हजार सात सय ३३ पर्यटक त्यस क्षेत्रमा पुगेका थिए ।
सन् २०२३ देखि यस क्षेत्रको पर्यटन पुरानै लयतिर फर्किएको थियो । ‘एक्याप’का प्रमुख डा। रबिन कडरियाले सन् २०२५ मा पर्यटक आगमनमा नयाँ रेकर्ड कायम भएको बताउनुभयो । अघिल्लो वर्षको तुलनामा ५५ हजार सात सय ८६ बढी पर्यटक आएको उहाँको भनाइ । दक्षिण एसियाली मुलुक बाहिरका पर्यटकको संख्या पनि सन् २०२५ मा १० हजार दुई सय ५२ ले बढेको हो ।
‘एक्याप’को आँकडा अनुसार सन् २००१ मा जम्मा ६५ हजार तीन सय १३ जना पर्यटकले यस क्षेत्रको भ्रमण गरेका थिए । कोभिड महामारीका बेला सन् २०२१ मा उक्त संख्या १६ हजार एक सय पाँचमा झरेको थियो । पछिल्लो समय भने पर्यटक आगमनमा वृद्धि हुँदै आएको हो ।
अन्नपूर्ण चक्रीय पदमार्गमा अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ क्षेत्र, म्याग्दीको घोडेपानीलगायतका गन्तव्यस्थलमा बर्सेनि लाखौँ आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन् ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले ती गन्तव्यस्थलमा घुमफिर गर्ने विदेशी पर्यटकको मात्र तथ्याङ्क राख्ने गरेको छ । सात हजार छ सय वर्ग किलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्र पदयात्राका लागि आकर्षक गन्तव्य मानिन्छ । प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन, संस्कृति आदि कारणले अन्नपूर्ण क्षेत्र पर्यटकको रोजाइमा पर्ने गरेको छ ।
कास्की, लमजुङ, मनाङ, म्याग्दीलगायत जनसुकै मार्गबाट अन्नपूर्ण क्षेत्रको छोटो, मध्यम र लामो दुरीको पदयात्रा तय गर्न सकिन्छ । आकर्षक गन्तव्यस्थल, पर्यटनमैत्री पूर्वाधार, स्थानीयवासीको आतिथ्यता र सेवासुविधाका हिसाबले अन्नपूर्ण चक्रीय पदमार्ग घुमफिरका लागि उत्कृष्ट मानिन्छ । अन्नपूर्ण संरक्षण क्षेत्रमा कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १५ स्थानीय तहका ८७ वडा समेटिएका छन् ।
