• २०८३ कार्तिक ४, मङ्गलबार
  • 2026 October 20, Tuesday
  • Unicode Converter

‘दुश्मन हेरेको हेरै…’ लाई १५ करोड ‘भ्यूज’

बागलुङ, १७ पुस

गायक दुर्गेश थापाको गीत ‘दुश्मन हेरेको हेरै…’ले युट्युबमा हालसम्म १५ करोड बढी ‘भ्यूज’ पाठको छ । सन् २०२५ मा युट्युबमा सबैभन्दा धेरै हेरिएको नेपाली गीतमा पर्न सफल यस गीतमा आठ लाखले लाइक र २४ हजार बढीले टिप्पणी गरेका छन् । सन् २०२४ डिसेम्बर ३० मा ‘दुर्गेश थापा’ युट्युब च्यानलबाट गीत सार्वजनिक भएको थियो । गीत युट्युब ट्रेन्डिङको पहिलो स्थान हुँदै ग्लोबल ट्रेन्डिङमासमेत परेको थियो ।

गीतमा थापासहित गायक आनन्द कार्की, गायिका समीक्षा अधिकारी र एलिना चौहानको स्वर सुन्न सकिन्छ । थापाले आफ्नै शब्द र सङ्गीतमा उक्त गीत तयार पार्नुभएको हो । गीतको सङ्गीत संयोजन पनि उहाँले नै गर्नुभएको हो । गीतको म्यूजिक भिडियोमा थापासहित कलाकार प्रियङ्का कार्की, कविता नेपाली, पेमा लामालगायतका अभियन रहेको छ ।

‘दुश्मन हेरेको हेरै।।।’को सफलताले आफ्नो साङ्गीतिक ‘करिअर’लाई नै नयाँ मोड दिएको गायक थापा बताउनुहुन्छ । “यो गीतको सफलताले मलाई पनि थप उचाइ दिएको छ, नयाँ उर्जा पाएको महसुस गरेको छु”, उहाँले भन्नुभयो, “यो मेरो साङ्गीतिक करिअरकै मानक गीतका रूपमा रहनेछ, दर्शक÷स्रोताले दिनुभएको यो माया र सम्मान केबल भ्यूजको संख्या होइन, यो सपना पूरा भएको क्षण हो ।”

गीतका सफलतासँगै पछिल्लो समय देशविदेशका साङ्गीतिक कार्यक्रम र मेला–महोत्सवमा उहाँको माग बढेको छ । गत वर्षको हिउँदमा महोत्सव पुग्न भ्याइनभ्याइ हुँदा थापाले हेलिकप्टरसमेत प्रयोग गर्नुपरेको थियो । “सँधै म यो स्थानमा रहन सक्दिन, मेरो ठाउँमा अर्को प्रतिभा आइपुग्छ”, उहाँले भन्नुहुन्छ, “तर म आज जहाँ छु आफ्नै मेहनत र कर्मका कारण छु ।” थापाको पछिल्लो गीत ‘जाने भए जाममाया।।।’ पनि गीत चर्चित छ ।

सयौँ गीतमा स्वर र म्यूजिक भिडियोमा अभिनय गर्नुभएका थापाका ‘हामी पनि नाच्नु पर्छ बीचबीचमा।।।’लगायत गीत चर्चित छन् । थापाले पछिल्लो समय चलचित्रका गीतमा पनि स्वर तथा सङ्गीत दिनुभएको छ । बागलुङको गलकोट नगरपालिका(७ मल्ममा जन्मनुभएका थापाले आधुनिक, लोकदोहोरी, पपलगायत गीतका म्युजिक भिडियोमा अभिनय गर्नुभएको छ । युवा र किशोरपुस्तामाझ बढी लोकप्रिय थापाले डान्सबारदेखि चलचित्रसम्मको अनुभव बटुल्नुभएको छ ।