बागलुङ, १५ पुस
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गण्डकी प्रदेशमा कुल १८ लाख ७० हजार ६५ मतदाता कायम भएका छन् । प्रदेश निर्वाचन कार्यालय, पोखराका अनुसारका सबैभन्दा बढी कास्कीमा तीन लाख आठ हजार पाँच सय ७२ मतदाता रहेका छन् । सबैभन्दा कम मनाङमा मतदाता संख्या जम्मा सात हजार छ ।
स्याङ्जामा दुई लाख ४८ हजार आठ सय १६, तनहुँमा दुई लाख ५४ हजार तीन सय ९७, नवलपुरमा दुई लाख ६८ हजार पाँच सय २६, गोखरामा दुई लाख २९ हजार ५८ र बागलुङमा एक लाख ९३ हजार एक सय ८१ मतदाता कायम भएका छन् ।
यस्तै लमजुङमा एक लाख ३७ हजार एक सय २४, पर्वतमा एक लाख २५ हजार चार सय ६६, म्याग्दीमा ८६ हजार तीन सय ९७ र मुस्ताङमा ११ हजार तीन सय ३८ मतदाता रहेको कार्यालयका सूचना अधिकारी रुद्रप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।
प्रदेशका कुल मतदातामध्ये नौ लाख १४ हजार पाँच सय ३५ पुरुष, महिला नौ लाख ५५ हजार पाँच सय १६ र अन्य १४ जना रहेको उहाँले बताउनुभयो । प्रदेशका ११ वटै जिल्लामा १२ सय ९७ मतदानस्थल र २३ सय ९६ मतदान केन्द्र कायम गरिएको छ ।
गोरखामा दुई सय २५, स्याङ्जामा एक सय ९९, कास्कीमा एक सय ५३, तनहुँमा एक सय ४४, लमजुङमा एक सय ३०, नवलपुरमा एक सय १४, बागलुङमा एक सय सात, म्याग्दीमा ८२, पर्वतमा ७६, मुस्ताङमा ३९ र मनाङमा २८ मतदानस्थल रहेका छन् । विसं २०८२ फागुन २० गतेभित्र १८ वर्ष पुगेकाले मतदान गर्न पाउने जनाइएको छ ।
निर्वाचन आयोगले फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी गत असोज १० गतेदेखि मङ्सिर ५ गतेसम्म मतदाता नामावली सङ्कलन गरेको थियो । बायोमेट्रिय विधि र राष्ट्रिय परिचयपत्रका आधारमा मतदाता नामावली दर्ता गरिएको थियो ।
गण्डकी प्रदेशमा विसं २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा १६ लाख ६२ हजार दुई सय ४६ मतदाता थिए । अहिलेको चुनावमा दुई लाख सात हजार आठ सय १९ जना नयाँ मतदाता थपिएका हुन् ।
