बागलुङ, १४ पुस
वन विज्ञान अध्ययन संस्थान, पोखरा क्याम्पस र धवलागिरि बहुमुखी क्याम्पसका विद्यार्थीले बागलुङको ढोरपाटन क्षेत्रको वातावरण (जलवायु) तथा जैविक विविधताको अध्ययन गरेका छन् ।
दिगो पर्यटन प्रवद्र्धन परियोजनाअन्तर्गत गरिएको उक्त अध्ययन तथा अनुसन्धानको निष्कर्षसहितको प्रतिवेदनलाई विद्यार्थीहरुले आइतबार बागलुङ सदरमुकाममा आयोजित सरोकार भएका पक्षहरुको बैठकमा प्रस्तुत गरे । विद्यार्थीहरूले ढोरपाटन क्षेत्रमा पुगेर गरेको स्थलगत अध्ययन, संकलित तथ्याङ्क तथा अनुसन्धानबाट निस्किएका निष्कर्षहरू सार्वजनिक गरेका हुन् ।
कार्यक्रममा धलागिरि बहुमुखी क्याम्पस बागलुङका सहायक क्याम्पस प्रमुख डिल्लीराज गौतमले विद्यार्थीहरूले अपनाएको अध्ययन–अनुसन्धानको विधि र प्रक्रियाबारे प्रस्तुति राख्नुभएको थियो । त्यस्तै पोखरा वन विज्ञान क्याम्पसकी लीला पुरीले अनुसन्धानका क्रममा प्राप्त अनुभव, सिकाइ तथा यसको महत्वबारे धारणा राख्नुभएको थियो ।
अनुसन्धानमा सहभागी विद्यार्थीहरूले ढोरपाटन क्षेत्रमा देखेका, भोगेका अवस्था, त्यहाँका सम्भावना, अभाव र सुधार गर्नुपर्ने पक्षहरूलाई तथ्याङ्कमा उतारेर प्रस्तुत गरेका थिए । उनीहरूले यस अनुसन्धानबाट सिक्नुपर्ने विषय र त्यसको प्रचार–प्रसारका लागि गरिएका गतिविधिबारे पनि जानकारी गराएका थिए ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले यस्ता अध्ययन–अनुसन्धान कार्यक्रमहरू कागजमै सीमित हुन नहुनेमा जोड दिनुभयो। उहाँले अनुसन्धानबाट निस्किएका निष्कर्ष र नतिजाहरू सरोकारवाला निकाय तथा स्थानीय समुदायसँग प्रत्यक्ष छलफल गरी व्यवहारमा उतार्न सके मात्र त्यसको प्रभाव स्थानीय स्तरमै महसुस हुने बताउनुभयो ।
बिवाईसी बागलुङद्वारा सञ्चालित उक्त परियोजना निसीखोला गाउँपालिका र ढोरपाटन नगरपालिकामा सञ्चालन भइरहेको परियोजनाका टिम लिडर अमरबहादुर थापाले जानकारी दिनुभयो ।
