बागलुङ, २८ मङ्सिर
जिल्ला खेलकुद विकास समितिद्वारा आयोजित १४औँ बागलुङ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि बागलुङ नगरपालिकाले हात पारेको छ । शनिबार सम्पन्न प्रतियोगितामा २१ स्वर्ण, १६ रजत र ११ काश्य पदकसहित कुल ४८ पदक हाँसिल गर्दै बागलुङ नगरपालिकाले राष्ट्रपति रनिङ शिल्डको उपाधि चुमेको हो ।
बागलुङ नगरपालिकाले एथ्लेटिक्सतर्फ ७ स्वर्ण, ६ रजत, ४ काश्य, भलिबलमा एक काश्य, कबड्डीमा १ स्वर्ण, १ रजत, तेक्वान्दोमा ११ स्वर्ण, ३ रजत र ३ काश्य पदक जितेको हो । कँरातेतर्फ २ स्वर्ण, ६ रजत र ३ कास्य पदक जितेको जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।
बडिगाड गाउँपालिकाले ८ स्वर्ण, ८ रजत र १५ काश्य गरी कुल ३१ पदक जित्दै दोस्रो स्थान हाँसिल गर्न सफल भएको छ । बडिगाडले एथ्लेटिक्समा ५ स्वर्ण, ५ रजत र १ काश्य, कबड्डीमा १ काश्य, तेक्वान्दोमा १ रजत, ६ काश्य, करातेमा ३ स्वर्ण, २ रजत र ७ काश्य पदक जितेको छ ।
तेस्रो भएको ढोरपाटन नगरपालिकाले ६ स्वर्ण, ६ रजत र ७ काश्य पदकसहित कुल १९ पदक जितेको छ । चौथो भएको जैमिनी नगरपालिकाले ५ स्वर्ण, ८ रजत र १४ कास्य पदक सहित कुल २७ पदक जितेको छ । गलकोट नगरपालिका ४ स्वर्ण, ४ रजत र ११ काश्य पदकसहित १९ पदक जितेर पाँचौ भएको छ । काठेखोला गाउँपालिकाले ४ स्वर्ण, ४ रजत, ७ काश्यसहित १५ पदक जितेर छैठौँ भएको छ ।
बरेङ गाउँपालिकाले ४ स्वर्ण, २ रजत र ७ काश्य पदक जित्न सफल भयो । निसीखोला गाउँपालिकाले २ स्वर्ण, २ रजत र ३ कास्यसहित ७ पदक जित्यो । ताराखोला गाउँपालिकाले २ स्वर्ण र १ रजतसहित ३ पदक जित्न सफल भएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्णप्रसाद कँडेलले जानकारी दिए । प्रतियोगितामा तमानखोला गाउँपालिकाबाहेक जिल्लाका अन्य सबै पालिकाले भाग लिएका थिए ।
