बागलुङ, २६ मङ्सिर
१४औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुक्रबारदेखि बागलुङमा सुरु भएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनामा स्थानीय बाङ्गेचौर खेल मैदानमा सुरु भएको प्रतियोगिताको जिल्ला समन्वय समितिका प्रमुख अमरबहादुर थापाले उद्घाटन गरे ।
उनले खेल प्रतिभा पहिचानका लागि यस प्रतियोगिता महत्वपूर्ण हुने बताए । प्रमुख थापाले स्रोतसाधनको अभावका बावजुत पनि खेल गतिविधि अगाडि बढेको बताए । प्रदेश खेलकुद् परिषद्, गण्डकीका सदस्यसचिव श्रीधर शर्माले सोह्रौँ प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बागलुङमा आयोजना गरिने बताए ।
पछिल्लो समय प्रदेशस्तरीय प्रतियोगिता आलोपालो रुपमा जिल्लामा गर्ने गरिएको उनको भनाइ छ । प्रतियोगिता सञ्चालनदेखि खेलका बजेट तथा कार्यक्रमलाई विकेन्द्रित गर्दै लगिएको सदस्यसचिव शर्माले बताए । समयमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजन नगर्ने स्थानीय तहलाई ध्यानाकर्षण गराइएको उनले बताए । कार्यक्रममा बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारी, प्रदेश खेलकुद परिषद्का बोर्ड सदस्य कञ्चन थापा कोइरालालगायत शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
प्रतियोगितामा जिल्लाका नौ स्थानीय तहबाट खेलाडीको सहभागिता रहेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्ण कँडेलले जानकारी दिए । जिल्लाभरबाट आठ सय बढी विद्यार्थी प्रतियोगितामा सहभागी रहेको उनको भनाइ छ । प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स, कँराते, तेक्वान्दो र उसुमा गरी कुल ६६ इभेन्ट्स हुनेछन् ।
