• २०८३ कार्तिक ४, मङ्गलबार
  • 2026 October 20, Tuesday
  • Unicode Converter

बागलुङ सेवा समाज कतारको रक्तदान कार्यक्रममा ९० जनाले गरे रक्तदान

बागलुङ , ७ मङ्सिर

बागलुङ सेवा समाज कतार र समाजको संरक्षकत्वमा स्थापित बागलुङ सेवा समाज अक्षयकोषको संयुक्त आयोजना तथा नेपाली रक्तदाता संघ, कतारको समन्वयमा ‘बृहत् रक्तदान’ कार्यक्रम सम्पन्न भएको छ ।

गत शुक्रबार सम्पन्न रक्तदान कार्यक्रममा ९० जनाले रक्तदान गरेको समाजका अध्यक्ष निराजन गौतमले जानकारी दिए । मानवीय र सामाजिक सेवाका क्षेत्रमा क्रियाशील बागलुङ सेवा समाज कतारले कतारको हमद हस्पिटलको ब्लड डोनेसन सेन्टरमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो ।

अक्षयकोषका अध्यक्ष सन्तोष पौडेलले रक्तदान गर्दै उक्त कार्यक्रमको शुभारम्भ भएको थियो । ‘रक्तदान केवल परोपकार मात्र होइन, जीवन बचाउने महान् कार्य हो” भन्ने अभियानका साथ रक्तदान कार्यक्रमको आयोजना गरिएको अक्षयकोषका अध्यक्ष पौडेलले बताए ।

प्रवासमा रहेका नेपालीहरू मानवता प्रवर्द्धन र सामाजिक हितमा गतिविधिमा पनि उत्तिकै सक्रिय रहेको उनको भनाइ छ । समाजका अध्यक्ष गौतमले नेपालीहरू जहाँ बसे पनि समाजप्रति उत्तरदायी रहन्छन् भन्ने उदाहरण रक्तदान कार्यक्रमले दिएको बताए ।

‘रक्तदान, जीवनदान’ भन्ने आदर्श वाक्यसहित सञ्चालन गरिएको रक्तदान कार्यक्रममा नेपाली श्रमिक तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । बागलुङ सेवा समाज कतारले कतार तथा गृह जिल्ला बागलुङमा नियमित रूपमा सामाजिक कार्यहरू सञ्चालन गर्दै आइरहेको छ ।

समाजले रू। एक करोड रुपैयाँको ‘कतार बहुद्देश्यीय अक्षयकोष’समेत स्थापना गरेको छ । कोषमार्फत दैवी प्रकोप उद्धार, सीपमूलक तालिम, पर्यटन प्रवद्र्धन, प्रवासीको तथ्यांक संकलन, सम्मान र पुरस्कार प्रदान तथा सामाजिक काम गर्ने लक्ष्य लिइएको अक्षयकोषका अध्यक्ष पौडेलले बताए ।