बागलुङ, ५ मंसिर
आगामी पुस ११ देखि २१ गतेसम्म गण्डकी प्रदेशस्तरीय पर्यटन, कृषि, औद्योगिक व्यापार मेला एवं आठौँ बागलुङ महोत्सव हुने भएको छ । बागलुङ उद्योग वाणिज्य संघको आयोजनामा हुने महोत्सवको तयारी तीव्र पारिएको बिहीबार पत्रकार सम्मेलनमार्फत जानकारी दिइयो ।
स्थानीय बाङ्गेचौर खेल मैदानमा संचालन हुने महोत्सवमा खुला प्रदेशस्तरीय पुरूष तथा महिला भलिबल, खुला राष्ट्रिय दोहोरीगीत प्रतियोगिता, पञचेबाजा प्रदर्शनी तथा प्रतियोगिता, भोले छुने प्रतियोगिता, सामूहिक नृत्य, वक्तृत्वकला, लठो तान्ने, घैंटौफोर, तारो हान्नेलगायत विविध खेलकुद प्रतियोगिता आयोजना गरिएको महोत्सव मूल आयोजक समितिका संयोजक एवं संघका अध्यक्ष राजनकुमार शाक्यले जानकारी दिए ।
महोत्सवमा फोटो प्रदर्शनी, सांस्कृतिक झाँकी, स्थानीय खाना प्रवर्द्धन, सुन्तला, माछाको प्रदर्शनी, हस्तकला, कृषि तथा पशु, औद्योगिक उत्पादन, स्थानीय जटिबुटी, सूचना प्रविधि आदिको प्रदर्शनी तथा बिक्रीकक्ष रहने संयोजक शाक्यले बताए । अंग्रेजी नयाँ वर्ष पारेर विशेष सांगीतिक कार्यक्रम पनि तय गरिने जनाइएको छ । महोत्सवमा बढीमा दुई सयसम्म व्यावसायिक स्टल रहनेछन् ।
आठ लाख दर्शकले मेला अवलोकन गर्ने अनुमान गरिएको संघका पूर्वअध्यक्ष एवं सुरक्षा व्यवस्थापन उपसमितिका संयोजक नरेश कँडेलले बताए । महोत्सवको प्रतिटिकटबाट रू। दस मानसेवा आश्रम बागलुङलाई सहयोग गरिने उनले जानकारी दिए ।
महोत्सवबाट बचेको रकम व्यावसायीहरूको कल्याणकारी कोष, बागलुङ बजारमा सिसी क्यामेरा जडान तथा मर्मत, स्वास्थ्यका लागि खेलकुद कोष, अक्षयकोष निर्माण, कोशेली घर संचालन आदिमा खर्च गरिने जनाइएको छ ।
महोत्सवमा रू. दुई करोड २० लाख आम्दानी हुने र रू. एक करोड ७० लाख खर्च हुने आयोजकको अनुमान छ । महोत्सव सफल पार्न ४५ वटा उपसिमिति गठन गरिएको संघका प्रेस सल्लाहकार सुवास आचार्यले जानकारी दिए ।
महोत्सवमा रू. एक यसको प्रेवश टिकट तोकिएको छ । विद्यार्थीलाई रू. ७० को टिकट व्यवस्थापन गरिएको छ । ज्येष्ठ नागरिक र अशक्त व्यक्तिलाई निस्शुल्क प्रवेशको व्यवस्था मिलाइएको छ । विद्यालयले सामूहिक रूपमा विद्यार्थीलाई महोत्सव अवलोकनमा लैँजादा पनि प्रवेश शुल्क नलाग्ने जनाइएको छ ।