बागलुङ, २ मंसिर
ढुङ्गागिट्टीको जथाभावी दोहन र अनियन्त्रित निर्माण गतिविधिले मध्य बागलुङ भएर बहने ताराखोला–दरमखोला सङ्कटमा पर्ने भन्दै स्थानीय युवाहरुले खोला संरक्षणका लागि खबरदारी गरेका छन् ।
प्रेस विज्ञप्तिमार्फत उनीहरुले खोला संरक्षणमा समयमै ध्यान नदिए पानीको स्रोत, पर्यावरण, जलचर, कृषि प्रणाली र मानव जीवनलाई नै गम्भीर असर पुग्ने चेतावनी दिएका छन् ।
‘ताराखोला–दरमखोला त्यस क्षेत्रका बासिन्दाको लाइफलाइन हो, जलवायु परिवर्तन, अव्यवस्थित विकास र मानवीय कृयाकलापका कारण खोलाको अवस्था दिनप्रतिदिन बिग्रदैँ गएको छ, खोलाले अस्भाविक रुपमा आफ्नो धार परिवर्तन गर्दैछ’, विज्ञप्तिमा भनिएको छ, ‘विभिन्न जलविद्युत् कम्पनीहरुले खोलाभित्र पसेर जथाभावी डोजर चलाउने गरेका कारण खोलाको स्वरुप खल्बलिँदै गएको छ ।’
खोला दोहनले त्यहाँको प्रख्यात असला माछा पनि सङ्कटमा परेको जनाइएको छ । जलचरको बासस्थानको रक्षा गर्न, पानीको स्रोत जोगाउन र जैविक विविधताको सन्तुलन कायम राख्न ताराखोला–दरमखोलाको संरक्षण गर्नुपर्नेमा जोड दिइएको छ ।
खोलामाथि भइरहेको मनपरी दोहनलाई रोक्न जनप्रतिनिधि, स्थानीय प्रशासन र सरोकार भएका निकायले तत्काल कदम चाल्नुपर्ने माग विज्ञप्तिमा गरिएको छ । जलविद्युत् कम्पनीहरुले खोलामा अनिवार्य छोड्नुपर्ने न्यूनतम पानीको प्रवाह नछोड्दा त्यसबाट खोला सुक्ने, माछालगायत जलीय जीव मासिने र खानेपानीको सङ्कट निम्तने विज्ञप्तिमा उल्लेख गरिएको छ ।
‘भावी पुस्ताका लागि प्राकृतिक स्रोतहरुको संरक्षण सुरक्षित गर्न आजैदेखि जिम्मेवार भएर उचित कदम चाल्नुपर्छ’, विज्ञप्तिमा भनिएको छ ।पूर्ण श्रीस, तारा थापा, प्रगति थापालगायतका युवाहरु मिलेर विज्ञप्तिमार्फत सम्बन्धित पक्षको ध्यानाकर्षण गराएका हुन् ।
ताराखोला गाउँपालिका र गलकोट नगरपालिकामा पर्ने उक्त खोलाको संरक्षणका लागि युवाहरुले ताराखोला–दरमखोला संरक्षण अभियान सुरु गरेका छन् । माथिल्लो भेगमा ताराखोला भनिने उक्त खोलालाई गलकोटमा भने दरमखोलाले चिनिन्छ ।