बागलुङ, १ मङ्सिर
पश्चिम बागलुङ र गुल्मीको सीमामा पर्ने पौँदी क्षेत्रमा सोमबारदेखि न्वागी पर्व सुरु भएको छ । यस पर्वका अवसरका पौँदेलीले सोमबार बिहान ९ बजेर ३३ मिनेटको शुभसाइतमा न्वागी खाए । बागलुङको बडिगाड गाउँपापलिका–५ खार बजारमा परम्परा अनुसार न्वागी हवन पूजा पनि गरिएको थियो ।
बर्सेनि धानबाली भित्राएपछि मङ्सिर पहिलो हप्ता पौँदी क्षेत्रमा न्वागी खाने प्रचलन रहेको न्वागी मेला तथा संस्कृति संरक्षण समितिका अध्यक्ष कृष्णबहादुर घिमिरेले बताए । उनका अनुसार नयाँ चामलमा दही, केरा, सिलाम र चिनी मिसाएर न्वागी बनाइन्छ । “आफन्त, इष्टमित्रलाई घरमा निम्ता गरेर न्वागी खुवाउने, शुभकामना आदानप्रदान गरेर यो पर्व मनाइन्छ”, उनले भने ।
पौँदेलीले न्वागीको संस्कृतिलाई पर्वकै रुपमा मान्दै आएका छन् । न्वागी खाए लगत्तै मेलासमेत लगाउने परम्परा रहेका छ । न्वागीलाई पौँदी क्षेत्रको एतिहासिक पर्वका रुपमा लिइन्छ । न्वागीको परम्परालाई जोगाउन मेलालाई संस्थागत रुपमा सञ्चालन गर्दै आएको अध्यक्ष घिमिरले बताए ।
पौँदी क्षेत्रमा सयौँ वर्षदेखि न्वागी पर्व मनाइँदै आएको उनको भनाइ छ । मङ्सिर १ देखि ७ गतेभित्रमा ज्योतिषले निकालेको शुभमूहर्त अनुसार न्वागी खाने चलन रहेको छ । गुल्मीको मुसीकोट नगरपालिकाको नेटा, पौँदीअमराई, इस्मा र बागलुङको बडिगाड गाउँपालिकाको ग्वालीचौर, जलजला र दगामा एकै समयमा न्वागी खाने पर्व सुरु हुन्छ । पहिले नेपालमा टुक्रे राज्य हुँदा यी क्षेत्र इस्मा राज्यमा पर्थे ।
कर्णाली राज्य टुक्रिएर १५ औँ शताब्दीतिर इस्मा राज्यअन्तर्गत परेपछि पौँदी क्षेत्रमा न्वागी खाने पर्व सुरु भएको कथन छ । “एकिन र लिखित इतिहास त छैन, तर यो पर्व सयौँ वर्षदेखि चल्दै आएको हो”, स्थानीय अगुवा कलाधर घिमिरेले भने, “पौँदी क्षेत्रमा धान खेती धेरै हुने भएकाले तत्कालीन राजा/रजौटाले न्वागीको परम्परा बसालेको हुनुपर्छ ।”
स्थानीयवासीको भनाइमा तत्कालिन इस्मा राज्यका राजाले सय मुरी धान फल्ने खेतको गुठी बनाएका थिए । छत्रुगुठीका रुपमा रहेको उक्त खेतमा उब्जाउ भएको धानलाई भित्राएपछि पहिलो परिकारस्वरुप न्वागी बनाएर खाने प्रचलनको सुरुआत भएको मानिन्छ ।
पछि त्यस क्षेत्रका सबै बासिन्दाले धानबाली स्याहारेपछि न्वागी खाने संस्कार बसालेका हुन् । घरमा आएका पाहुनालाई सुरुमा न्वागी चखाएपछि नयाँ चामलकै भात र अन्य परिकार खुवाउने गरिन्छ । धान खेत नभएकाले पनि न्वागी खाएर पर्व मनाउँछन् । न्वागी खाएपछि मात्र नयाँ चामल प्रयोगमा ल्याउन पाइने मान्यता छ ।
पहिलेपहिले यस क्षेत्रकै ठूलो मेलाका रुपमा पौँदीको न्वागी मेलालाई लिइन्थ्यो । मेला भर्न बागलुङ र गुल्मीका गाउँगाउँबाट मानिसहरु पौँदी झर्थे । पछिल्लो समय बडिगाड गाउँपालिका–५ ग्वालीचौरमा मेला लाग्दै आएको छ । समयानुकूल मेलाको स्वरुप फेरिँदै आएपनि स्थानीयवासी अझैपनि मौलिकता जोगाउन लागिपरेका छन् ।
