• २०८३ कार्तिक ३, सोमबार
  • 2026 October 19, Monday
  • Unicode Converter

महायज्ञमा एकै दिन एक करोड एक लाख ९६ हजार संकलन

बागलुङ, २५ कात्तिक

बागलुङको निरयघाटमा जारी श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञमा मंगलबार एकैदिन रु. एक करोड एक लाख ९६ हजार रुपैयाँ सहयोग संकलन गरिएको छ। मानवसेवा आश्रम बागलुङ शाखाको भवन निर्माण सम्पन्न गर्ने उद्देश्यले आयोजना गरिएको महायज्ञको चौथो दिन भक्तजनहरूबाट उक्त सहयोग संकलन भएको मानवसेवा आश्रमको वित्त विभागले जनाएको छ।

मंगलबार भक्तजनहरूको बाक्लो उपस्थितिले महायज्ञस्थल भरिएको थियो। बिहानैदेखि श्रद्धालुहरूले भजन, कथा तथा पूजा–आराधनामा सहभागिता जनाउँदै सहयोग गर्ने क्रम निरन्तर जारी राखेका थिए। भक्तजनहरूले असहाय र बेवारिसे व्यक्तिहरूको सेवाका लागि गर्न सकिने सानो योगदानले पनि ठूलो परिवर्तन ल्याउने विश्वास व्यक्त गरेका छन्।

गलकोट नगरपालिका, उमाशान्ति श्रेष्ठ र कृष्णकुमार श्रेष्ठले मानवसेवा आश्रम बागलुङ शाखाका लागि एक कोठा निर्माणका निम्ति ५ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेका छन्। त्यस्तै लालबहादुर खत्री, सीता कुमारी खत्री, धर्मराज क्षेत्री, रुद्रबहादुर क्षेत्री, निर्मला मल्ल, राम खड्का, रधुपति शर्मा, धनबहादुर खड्का, पूर्णबहादुर शाक्य, तेजबहादुर कार्की, लालबहादुर महत र रूद्रबहादुर महतलगायतका दाताहरूले रु. लाख रुपैयाँभन्दा बढी सहयोग गरेका छन्।

मानवसेवा आश्रमका अनुसार महायज्ञबाट संकलित रकम बागलुङ शाखाको भवन निर्माण, असहाय व्यक्तिहरूको संक्षरणा र उद्धार कार्यमा खर्च गरिनेछ। गत शुक्रबारदेखि सुरु भएको श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ यही कार्तिक २८ गतेसम्म सञ्चालन हुनेछ।