• २०८३ कार्तिक ७, शुक्रबार
  • 2026 October 23, Friday
  • Unicode Converter

अलैँचीको राम्रो मूल्य पाएपछि बागलुङका किसान उत्साहित

बागलुङ, २४ कात्तिक

अलैँचीले उचित मूल्य पाउँदा बागलुङका किसान उत्साहित बनेका छन् । अघिल्लो वर्षको तुलनामा उत्पादन केहि मात्रामा घटेपनि बजार मूल्य राम्रो पाउँदा किसान खुसी बनेका छन् । जैमिनी नगरपालीका–९ नमुना कृषि समूहका अध्यक्ष धर्मबहादुर थापाले अलैँचीमा डाँख्ला कुहिने, दाना नलाग्ने लगायतका समस्याले यो वर्ष उत्पादनमा उल्लेख्य वृद्धि नभएपनि उत्पादित अलैँची राम्रो मूलमा बिक्री गरेको बताए ।

कुनैबेला प्रतिकिलो पाँच, छ सयमा पनि बिक्री नभएको अलैँची अहिले किलोकै २ हजार देखि २ हजार ४ सय सम्म बिक्री भएको छ”, उनले भने, “अब रोगकिराको पहिचान गरि निराकरण गर्न सकियो भने उत्पादन पनि वृद्धि हुन्छ ।”

अलैँचीको मुल्य बर्षैपिच्छे फरक हुने हुँदा मूल्य घट्ने होकी भन्ने चिन्ता लागेपनि अघिल्लो वर्षभन्दा अझै बढी मूल्यमा अलैँची बिक्री गरेको नमुना अलैँची उत्पादक कृषक समुहका अध्यक्ष बिमल पौडेलले बताए । उनको समुहमा एउटै किसानले बढीमा ५ लाख सम्मको अलैँची बिक्री गर्ने गरेका छन् ।

उनको समूहमा अघिल्लो वर्ष १३ क्विन्टल उत्पादन भएको सुकेको अलैँची यो वर्ष भने १० क्विन्टल मात्र उत्पादन भएको छ । गतवर्ष प्रतिकिलो २२ सयमा बिक्री गरेको अलैँची यो वर्ष २३ सयमा बिक्री गरेको उनले बताए ।

बागलुङ जिल्लामा ३३९ हेक्टर जमिनमा अलैँची खेती विस्तार गरिएपनि यो वर्ष ९६ हेक्टर क्षेत्रफलमा ४५ मेट्रिक टन मात्र उत्पादन भएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी सन्तोष अधिकारीले बताए । अघिल्लो वर्ष ४७ मेट्रिक टन उत्पादन भएको अलैँची यो वर्ष थोरै घटेको भएपनि कृषकले बजार मूल्य राम्रो पाएको उनको भनाइ छ ।

जिल्लामा बागलुङ नगरपालिकाको वडा नं.५, ८, ९, १०, गलकोट नगरपालिकाको वडा नं. १, २, ४, ८ जैमिनी नगरपालिकाको वडा नं. २, ३, ६, ७, ८, ९, १० ताराखोला गाउँपालिकाको वडा नं. १, २, ३ काठेखोला गाउँपालिकाको वडा नं. ३, ८ बरेङ गाउँपालिकाको वडा नं. १, २ बडिगाड गाउँपालिकाको वडा नं.१, ४, ५ र निसीखोला गाउँपालिकाको वडा नं. ७ मा अलैँची खेती विस्तार गरिएको छ ।

नेपाली अलैँची भारत हुँदै अन्तर्राष्ट्रिय बजारमा पुग्छ । गलकोट–१ दुदिलाभाटीका किसान पदम बहादुर खड्काले अलैँची खेतीमा राम्रो सम्भावना भएकाले कृषकहरुका लागि अनुदानलगायतका कार्यक्रम ल्याएर यसको विस्तार गर्नुपर्ने बताए । यो वर्ष ४ क्विन्टल अलैँची उत्पादन गरेका खड्काले प्रतिकिलो २४ सय देखि २६ सय रुपैयाँसम्ममा बिक्री गरेको सुनाए । बजार मूल्य राम्रो भएकाले अब उत्पादन वृद्धिमा ध्यान दिनुपर्ने उनले बताए ।

रोप्नेदेखि, गोडमेल, स्याहारसुसार, टिप्ने, सुकाउने आदि गर्दा किसानको धेरै समय, श्रम र लगानी अलैँची खेतीमा खर्च हुन्छ । अलैँची खेतीमा लाग्ने मेहनत र श्रम अनुसार सँधै राम्रो मूल्य पाउने वातावरण बन्नुपर्ने किसानको माग छ । बजारको उचित व्यवस्थापन र कृषकलाई अनुदानलगायतमा राज्यले चासो दिनुपर्नै किसानको भनाइ छ । जिल्लामा पछिल्लो समय अलैँची खेती विस्तार भइरहेको छ ।

राम्रो कमाइ हुने देखेर किसान अलैँची खेतीतिर आकर्षित छन् । नेपाली अलैँची काठमाडौँ हुँदै भारत, बङ्गलादेशलगायतका ठाउँमा निर्यात हुन्छ । कतिपयले सिधै पूर्वी नाका काँकडभिट्टा पु¥याएर भारतीय व्यापारीलाई अलैँची बेच्छन् । भारतीय बजारमा पुग्ने नेपाली अलैँची मसला, सौन्दर्य सामग्री, आयुर्वेदिक औषधिलगायतमा प्रयोग हुन्छ ।