• २०८३ कार्तिक ४, मङ्गलबार
  • 2026 October 20, Tuesday
  • Unicode Converter

हराउँदै भजनकीर्तन, जोगाउँदै शताब्दी घर

पर्वत, २३ कात्तिक

कथैकथा अनि गाथाहरूमा उभिएको कुश्मा नगरीलाई थप मौलिक साँस्कृतिक सोचले विकास गर्ने अभिप्रायले स्थापित ‘शताब्दी घर’ कुश्मामा शनिबार ‘भजनकीर्तन साँझ’ सम्पन्न भएको छ ।

संस्कृति आफैँले गरीब–धनी छुट्याउँदैन, तर सँस्कृति अपनाउनेहरूले छुट्याइहाल्छन् । सँस्कृति भनेको सुधार्दै ल्याइएको संस्कारलाई सर्वोत्तम रुप दिएर समाजले आफूलाई अघि बढाउने एउटा प्रभावशाली साधन हो । रीतिस्थिति, परम्परा आदिलाई यसको मर्म मान्दै सँस्कृतिमा हामी ठूलो आस्था राख्छौँ र व्यवहारमा ल्याउने प्रयत्न गर्छौँ । व्यवहारमा नआई सँस्कृति जीवित रहन सक्तैन ।

व्यवहारमा नल्याएको सँस्कृति जति नै घतलाग्दो भए पनि मरेर जान्छ । यही चिन्तनले अभिप्रेरित भएर पर्वते युवाहरू एकजुट भएर भजनकीर्तनु सत्सङ्ग साँझ आयोजना गरिएको शताब्दी घरका परिकल्पनाकार आरके अदीप्त गिरीले बताए ।

कला अनि संस्कृतिबिनाको शहर आत्माबिनाको शरीरजस्तै हो । सुन्दर सहर बन्न कला, संस्कृति, सम्पदा र सभ्यता बाँच्नुपर्छ । हाम्रो मौलिक संस्कार अन्तर्गतको भजन संस्कृति हाम्रो वैदिक परम्परासँग जोडिएको हुँदा पनि यसको उचित संरक्षण गर्नुपर्छ भनेर कार्यक्रम गरिएको पर्वत युवा संजालका भजन मण्डली संयोजक वसन्त बास्तोलाले बताए ।

संस्कृति, संस्कार र परम्परालाई परिस्कृत तुल्याउँदै जानु हरेक पुस्ताको कर्तव्य हुन्छ । पुरानो संस्कारलाई वर्तमान चेतनाको कसीमा घोटेर, बुझेर व्यवहारमा ल्याउनाले संस्कृतिको जगेर्ना हुन्छ, त्यसको विकास हुन्छ र त्यो परिस्कृत हुन्छ । हाम्रा संस्कृतिहरूमा हामीलाई सम्पन्न तुल्याउने स्रोत, सम्पदा र ज्ञान लुकेको हुन्छ । संस्कारलाई नबुझी, नचिनी यतिकै पछ्याइरहन सकिन्न ।

पुर्खाको विश्वासलाई अन्धविश्वासमा परिणत गर्ने मूल तत्व अज्ञानता हो र अज्ञानताको जड बेवास्तामा लुकेको हुन्छ । कुसंस्कारलाई त्यागेनौँ भने हाम्रो साख गिर्ने छ । कुश्माको सिर्जनशील विकासका लागि नगरबासीले एकएक बुँद सहयोग गरिदिए पनि अथाह हुनेछ । कुश्मा नगरमा सृजनात्मकता बढाउने उद्देश्यले यस्ता कार्यक्रम गर्दै जाने गिरीले बताए ।

सँस्कृति एउटा व्यापक कुरो हो । यसमा सामाजिक चरित्रसम्म निहित हुन्छ । सामाजिक चरित्र र मूल्य, व्यक्तिगत चरित्र र मूल्यहरूकै एउटा गाँठो हो । सबैभन्दा ठूलो कुरो सँस्कृतिको परिभाषालाई व्यापकता दिनुमा नै छ । सांस्कृतिक सुन्दरताले भरिएको कला घर शताब्दी घर आफैमा एउटा जीवित इतिहास हो । यहाँबाट कार्यक्रम शुभारम्भ गर्दा हाम्रो आफ्नो र संस्कृतिप्रतिको बढी सम्मान हुने देखेर नै शताब्दी घरमा कार्यक्रम आयोजना गरिएको युवा संजालका संयोजक समुन्द्र गिरीले बताए ।

धुर र आनामा खुम्चिँदै रहेको समाजलाई स्वच्छ चिन्तन गर्ने ठाउँ अब दुर्लभ भइसकेको छ । यस्तो स्थितिमा शताब्दी घर उपयोगी साबित हुनेमा हामी आशावादी छौं । समाज, संस्कृति र सभ्यताको कथा एउटै साझा मञ्च ‘शताब्दी घर’ बाट बोलिनेछ शताब्दी घरका शील्पकार आरके अदीप्त गिरीले बताए । तीन सय वर्ष पुरानो शताब्दी घरमा पहाडी वास्तुकला अवलोकन, अध्ययन र अनुसन्धान गर्न सकिन्छ।