पोखरा, २२ कात्तिक
नेपालका विभिन्न पर्यटकीयस्थलको प्रर्वद्धनात्मक भ्रमण गर्दै आएको ‘डुलुवा’ टोली शुक्रबार कास्कीबाट हुम्ला प्रस्थान गरेको छ । उक्त टोली पर्वत, बाग्लुङ, रुकुमकोट, लिमी, लाप्चा ला पास पुगेर फर्किने छ । २१ सदस्यीय टोली मंसिर १ गते पोखरा आइपुग्ने योजना छ ।
उनीहरुलाई पोखरा भ्रमण वर्ष २०२५ का संयोजक गोपी बहादुर भट्टराईले पोखराबाट बिदाइ गरे । डुलुवाका संयोजक योगेश भट्टराईलाई पोखरा भ्रमण वर्षका ब्यानर हस्तान्तरण गरे । उक्त अवसरमा रेवान पोखराका पुर्वअध्यक्ष नरेश भट्टराई, खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमवी आस्था मगरलगायत उपस्थित थिए ।
पोखरा भ्रमण वर्ष २०२५ को ब्यानर हस्तान्तरण गर्दै पोखरा भ्रमण वर्षका संयोजक भट्टराईले नेपाल प्राकृतिक रुपले नै साहसिक यात्राको थलो भएको बताउँदै यो यात्राले पोखरा र गण्डकी प्रदेशको पर्यटन प्रर्वद्धनमा सहयोग पुग्ने बताए । उनले पोखराले भ्रमण वर्ष मनाइरहदाँ विभिन्न कार्यक्रमको आयोजना गरेको बताउँदै पोखरामा पर्यटक भित्राउन नेपाल र नेपाल बाहिरसमेत प्रर्वद्धनका कार्यक्रमहरु गर्नुपर्ने बताए ।
अभियानले नेपालको प्राकृतिक र सांस्कृतिक सुन्दरता रहेका रमणीय ठाउँको उजागर गर्ने उद्देश्य रहेको डुलुवाका संयोजक योगेश भट्टराईले बताए । हुम्ला नेपालको अन्तिम उपत्यका रहेकाले यसको यात्रा निकै रोमाञ्चकारी हुने उनले बताए । कैलाश पर्वत र लिमी उपत्यकासम्म पुग्ने परम्परगात बाटोलाई पुर्नजीवित गर्ने उनको भनाइ छ ।
‘डुलुवा’ पोखराका पर्यटनकर्मी युवाहरुको समूह हो । सन् २००८ देखि प्याराग्लाइडिङ तथा पर्यटन व्यवसायमा आबद्ध युवाहरु मिलेर नेपाल घुम्न सुरु गरेका थिए । सोही समूहलाई सन् २०२० मा आएर ‘डुलुवा’का रुपमा नामाकरण गरिएको थियो । स्थापनाको १५ वर्षमा डुलुवाले नेपालका ७० जिल्ला भ्रमण गरेको छ । भने भारतको लद्दाखसम्म र कास्कीदेखी कन्याकुमारी सम्म सफलतापूर्वक यात्रा गरिसकेका छन् ।
हुम्ला अन्तिम उपत्यका अभियान नामाकरण गरि यात्रामा निस्किेका उनीहरु रुकुमकोट, राकम, सर्खेघाट, सिमकोट, लिमी उपत्यका र ५ हजार मिटर उचाइको लाप्चा पास परेर सिमकोट फर्किने छन् । त्यसै गरी सर्खैघाट कोहलपुर बुटवल हुँदै ११ दिनमा पोखरा फर्किने छन् ।
यात्राका क्रममा ‘डुलुवा’ समूहले बनाएको ‘वि विल राइज फाउण्डेशन’ र नेपाल टेलिभजनद्वारा आयोजित भिडियो प्रतियोगिताको उपाधि डुलुवा समूहको ‘दि नर्देन वाल’ले जितेको थियो । प्रतियोगिताको ‘मोस्ट एनरजेटिक भिडियो मेकर’ अवार्ड पनि ‘डुलुवा’ कै ‘मेरो गाउँ तक्सेरा’ ले जितेको थियो ।