बागलुङ, १९ कात्तिक
बागलुङ नगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा आगामी मङ्सिर १४ देखि १८ गतेसम्म ‘मेयर कप’ खुला पुरुष फुटबल प्रतियोगिता हुने भएको छ ।
स्थानीय बाङ्गेचौर खेल मैदानमा हुने प्रतियोगिताको तयारी सुरु गरिएको खेल संयोजक सुदीप गौतमले बताए । नगरपालिकास्तरीय उक्त प्रतियोगितामा बढीमा दस टिम सहभागी हुने उनको भनाइ छ ।
“खुला प्रतियोगिता भएकाले देशभरको जनुसुकै नगरपालिकाले पनि आफ्नो आधिकारिक टिम पठाउन सक्छ”, संयोजक गौतमले भने, “आयोजक बागलुङ नगरपालिकाको दुई टिम रहनेछ ।”
प्रतियोगिताको विजेता टिमलाई मेडल र ट्रफीसहित रु. तीन लाख ३३ हजार तीन सय ३३, उपविजेतालाई रु. दुई लाख दुई हजार दुई सय २२ पुरस्कार प्रदान गरिनेछ । सर्वाधिक गोलकर्ता, सर्वोत्कृष्ट खेलाडी र सर्वोत्कृष्ट प्रशिक्षकलाई रु. दस हजारका दरले पुरस्कार प्रदान गरिने संयोजक गौतमले जानकारी दिए ।
