बागलुङ, १५ कात्तिक
दिवङ्गत राजनीतिकर्मी, समाजसेवी तथा शिक्षासेवी टोपबहादुर विजुक्छेको व्यक्तित्व र योगदानबारे शनिबार बागलुङमा चर्चा गरियो । उनको निधनको १५औँ दिनको पुण्यतिथिमा विद्यामन्दिर पुस्तकालय, बागलुङद्वारा आयोजित स्मृति सभाका वक्ताहरुले विजुक्छेलाई प्रेरक व्यक्तित्वका रुपमा स्मरण गरे ।
पुस्तकालयका कार्यवाहक प्रमुख संरक्षक लालचन्द्र राजभण्डारीले विजुक्छेले समाज सुधारका लागि तत्कालीन समयमा गरेका प्रयासको मुक्तकण्ठले प्रशंसा गरे । “उहाँ बागलुङको जिउँदो इतिहास हुनुहुन्छ, उहाँलाई हामी कहिल्यै बिर्सन सक्दैनौँ”, राजभण्डारीले भने, “टोपबहादुर विजुक्छे सत्य र न्यायका पक्षपाती हुनुहुन्थ्यो, उहाँ निडर स्वभावको हुनुहुन्थ्यो ।”
पुस्तकालयका संरक्षक समिति सदस्य एवं साहित्यकार प्रेम छोटाले बागलुङको सामाजिक, शैक्षिक र राजनीतिक क्षेत्रमा उनको योगदान चीरस्थायी रहने बताए । उनले समाजको हितमा निरन्तर खट्ने व्यक्तित्वका रुपमा विजुक्छेलाई स्मरण गरे । पुस्तकालयका पूर्वअध्यक्ष हरिहर श्रेष्ठले विद्यामन्दिर पुस्तकालयको विकासमा उनको महत्वपूर्ण योगदान रहेको बताए ।
विद्यामन्दिर माध्यमिक विद्यालयको कोठामा सीमित रहेको पुस्तकालयलाई हाल रहेको स्थानमा ल्याउन विजुक्छेले निर्णायक पहल गरेको श्रेष्ठले बताए । विजुक्छेकै पहलमा सार्वजनिक ठाँटीको जग्गालाई पुस्तकालयका नाममा लिइएको थियो । पुस्तकालय भवन निर्माणका लागि उनले आफ्नो निजी जग्गासमेत दिएकाको श्रेष्ठले बताए । पूर्वप्रतिनिधिसभा सदस्य मना केसीले विजुक्छेबाट नयाँ पुस्ताले प्रेरणा लिनुपर्ने बताइन् ।
बागलुङ नगरपालिकाका निवर्तमान प्रमुख जनकराज पौडेलले विजुक्छेले प्रगतिशील विचारधारा अँगाल्दै समाज रुपान्तरणको अगुवाई गरेको बताए । नेपाल रेडक्रस सोसाइटी बागलुङका पूर्वसभापति विश्वनाथ रेग्मीले तत्कालीन कालिका आदर्श गाउँ पञ्चायतको प्रधानपञ्च हुँदा विजुक्छेले अनिवार्य शिक्षाको सुरुवात गरेको बताए । बागलुङवासीले समाज सुधारकको रुपमा विजुक्छेलाई पछिसम्म स्मरण गररहने उनले बताए ।
विसं २०२० र विसं २०३० को दशकमा विजुक्छेले सामाजिक, शैक्षिक, राजनैतिक र विकास निर्माणमा उल्लेखनीय योगदान पु¥याएको वरिष्ठ अधिवक्ता काजी गाउँले श्रेष्ठले बताए । विद्यामन्दिर पुस्तकालय बागलुङका पूर्वअध्यक्ष मुकेशचन्द्र राजभण्डारीले विजुक्क्छेलाई हक्की स्वभावका हुनुका साथै दुःखी गरिब र पीडितको पक्षमा आवाज उठाउने व्यक्तित्वका रुपमा स्मरण गरे । स्थानीय प्रशासनलाईसमेत खबरदारी गर्न सक्ने क्षमता उनमा रहेको राजभण्डारीले बताए ।
विजुक्छेले बागलुङको धवलागिरि वीरेन्द्र मावि, विद्यामन्दिर पुस्तकालय र धवलागिरि बहुमुखी क्याम्पसको निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । सार्वजनिक धारा, बाटोघाटो निर्माणमा पनि उनको योगदान छ । विसं २०१४ सालको भद्र अवज्ञा आन्दोलनमा भाग लिएका विजुक्छे अन्याय र अत्याचारको विरुद्ध सशक्त आवाज उठाउने नेताका रुपमा चिनिन्थे । विजुक्छे विसं २०२५ सालमा कालिका आदर्श गाउँ पञ्चायतको प्रधानपञ्च निर्वाचित भएका थिए । उनको कार्यकालमा बागलुङ बजारको पाँच स्थानमा अनिवार्य निःशुल्क पाठशाला सञ्चालनमा ल्याइएको थियो ।
विसं २०२७ सालदेखि विसं २०२९ सम्म विजुक्छेले विद्यामन्दिर पुस्तकालयको अध्यक्ष भएर काम गरे । उनको नेतृत्वमा विसं २०२८ मंसिर १ गते विद्यामन्दिर पुस्तकालयलाई विद्यामन्दिर माध्यमिक विद्यालयबाट शिवधाराचोकमा रहेको मुस्ताङ जाने तिर्थयात्री बस्ने पौवामा सारिएको थियो । विजुक्छे विसं २०२१ सालमा स्थापना भएको धवलागिरि वीरेन्द्र रात्रि स्कुलको सञ्चालक समितिको संस्थापक अध्यक्षसमेत हुन् । विसं १९९० साउन १२ गते बागलुङ बजारको नौबिसेटोलमा बुबा देवीबहादुर विजुक्छे र आमा भुवन माया विजुक्छेको कोखबाट जन्मेका उनको यही कात्तिक १ गते ९३ वर्षको उमेरमा काठमाडौँको कालिमाटीस्थित निवासमा निधन भएको थियो ।
